• १६ चैत २०८०, शुक्रबार

निर्वाचन अवधिभरि मदिरा बिक्री निषेध

blog

मीना कँडेल

कावासोती, कात्तिक २३ गते । जिल्ला प्रशासन कार्यालय नवलपुरले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई ध्यान दिँदै मदिरा बिक्री वितरण तथा सेवन  निषेध गरेको छ । 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न भन्दै कार्यालयले सूचना जारी गरी निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाएको हो । 

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जिल्लाभरि मदिरा बिक्री र खुला रूपमा सेवन नगर्न नगराउन सार्वजनिक सूचना जारी गरी निर्देशन दिइएको जानकारी दिनुभयो । जिल्लाका ८ वटै पालिकाका सुरक्षा निकायले पनि मदिरा बिक्री तथा सेवनलाई कडाइ गर्न सबै पालिकाका मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएको छ ।

सूचना अवज्ञा हुने कार्य गरे गराएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने प्रशासनको भनाइ छ । निर्वाचनको समयमा मदिरा सेवन बढ्न सक्ने र यसले शान्ति सुरक्षामा असर पार्न सक्ने भएकाले मदिराजन्य पदार्थ बिक्री एवम् सेवनमा रोक लगाइएको घिमिरेले बताउनुभयो ।