• ७ वैशाख २०८१, शुक्रबार

राष्ट्रपति भण्डारी आइसल्यान्डमा

blog

राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्यान्डमा । तस्बिर : रासस

काठमाडौँ, कात्तिक  २३  गते । राष्ट्रपति विद्यादेवी भण्डारी विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स् (डब्लुपिएल)’ कार्यक्रममा सहभागी हुन औपचारिक भ्रमणका क्रममा आइसल्यान्ड पुग्नुभएको छ ।

यही ८ देखि १० नोभेम्बर २०२२ मा आइसल्यान्डको रेक्जाभिकमा आयोजना हुने रेक्जाभिक ग्लोबल फोरममा भाग लिन उहाँ मङ्गलबार आइसल्यान्ड पुग्नुभएको डेनमार्कको कोपनहेगनस्थित नेपाली दूतावासले जनाएको छ । उक्त फोरम डब्लुपिएल, आइसल्यान्ड सरकार र आइसल्यान्ड संसदद्वारा आयोजना गरिएको हो ।

राष्ट्रपति भण्डारीलाई आइसल्यान्डको परराष्ट्र मन्त्रालयका प्रमुख शिष्टाचार महापाल राजदूत एस्ट्रिड ब्रेक्कन र डेनमार्कस्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख तीर्थराज अर्यालले स्वागत गर्नुभएको सो विज्ञप्तिमा उल्लेख छ ।

यसअघि राष्ट्रपतिलाई दोहा विमानस्थलमा कतारस्थित नेपाली राजदूत नरेशविक्रम ढकाल तथा अन्य अधिकारीहरुका साथै कतारको परराष्ट्र मन्त्रालयका प्रोटोकल अधिकारीले स्वागत गर्नुभएको थियो ।

त्यस्तै जर्मनीको फ्राङ्कफर्टमा राष्ट्रपतिलाई जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का र जर्मनीको परराष्ट्र मन्त्रालयका प्रोटोकल अधिकारीहरूले स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले आज अपराह्न रेक्जाभिक ग्लोबल फोरममा सम्बोधन गर्नुहुने र डब्ल्युपिएल ट्रेलब्लेजर अवार्ड–२०२२ ग्रहण गर्नुहुने कार्यक्रम रहेको सो विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रपति भण्डारी १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । उहाँ भ्रमण सम्पन्न गरी यही कात्तिक २६ गते बिहान स्वदेश फर्कनुहुने कार्यक्रम छ ।