• ७ वैशाख २०८१, शुक्रबार

ठूला दल आमसभामा, साना घरदैलोमा

blog

मीना कँडेल

कावासोती, कात्तिक २३ गते । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि स्वतन्त्र तथा साना दलहरू घरदैलोमा व्यस्त छन् भने ठूला दलका उम्मेदवारहरू भने सभा र प्रशिक्षणमा व्यस्त देखिएका छन्। मतदानको दिन नजिकिँदै जाँदा राजनीतिक दललाई चुनावी प्रचारप्रसार भ्याइनभ्याइ हुन थालेको छ।

साना दलहरू जित्नेभन्दा पनि ठूला दलको मत विभाजन गराउने र समानुपातिकतर्फ आफ्नो पार्टीको मत बढाउने योजनामा देखिन्छन्। घरदैलोमा हिँडेका उम्मेदवार मतदाताका कुरा सुन्दै, आफ्ना कुरा मतदातालाई सुनाउने क्रम जारी छ। 

दुई सङ्घीय निर्वाचन क्षेत्र र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेको नवलपुरमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले घरदैलोमा पुगेर मत माग्न भ्याएका छैनन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपालका लागि नेपाली पार्टी, स्वतन्त्र पार्टीलगायतका राजनीतिक दलहरू भने घरदैलोमा जोड दिएका छन्।

‘ह्याट्रिक’ गर्ने दाउमा रहेका कांग्रेस नेता डा. शशाङ्क कोइराला र एमालेका केन्द्रीय नेता कृष्ण पौडेलबीच यसपल्ट कसिलो प्रतिस्पर्धा देखिएको छ। करिब ४५ वर्षसम्म कांग्रेसको सक्रिय राजनीतिमा रहेर राप्रपा प्रवेश गर्दै प्रतिनिधि सभामा उम्मेदवार बन्नुभएका प्राध्यापक डा. मोहनीलाल भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतम, अर्का स्वतन्त्र उम्मेदवार तुलसी भुसाल चुनावी मैदानमा हुनुहुन्छ। भोट माग्दै घरदैलोमा व्यस्त जनता समाजवादी नेपालका नवलपुर क्षेत्र नं. १ (ख) का प्रत्यक्षतर्फका उम्मेदवार छविलाल राना आफ्ना थोरै कार्यकर्तासँगै भोट माग्दै हुनुहुन्थ्यो। 

उता राप्रपा नेपालका उम्मेदवार विष्णु अधिकारी पनि घरदैलोमा नै व्यस्त हुनुहुन्छ। ठूला दलका नेता भने आमसभा, कोणसभा र ठूलो टोलीसहित प्रचारप्रसारमा व्यस्त देखिन्छन्।