• १२ वैशाख २०८१, बुधबार

मेसिनमा तालाबन्दी

blog

खोटाङ समाचारदाता 

खोटाङ, कात्तिक २३ गते । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले ठेकेदार कम्पनीको मेसिनमा तालाबन्दी गरेको छ। जिम्मा लिएको काम सम्पन्न नगरी मेसिन अन्यन्त्र लैजान खोजेपछि नगरपालिकाले तालाबन्दी गरेको हो।  

जिल्ला अस्पताल चोक–लफ्याङ सडक खण्डको सडक स्तरोन्नतिको जिम्मा करिब पाँच करोडमा ढुकुचु बगाले विएन्टी जेभी कम्पनीले पाएको हो। सम्झौताअनुसार काम सम्पन्न गर्न चार महिना बाँकी छ। सम्झौता मिति सकिन लाग्दा पनि काम सम्पन्न गर्नुको सट्टा मेसिनहरू नै लिएर अन्यन्त्र जान खोजेपछि ताला लगाइएको नगरपालिकाले जनाएको छ। टिप्परलगायतका केही सामान कम्पनीले केही समयअगाडि रातको समय पारेर लगिसकेको पाइएको छ। बाँकी रहेका केही मेसिन लान खोज्दा आइतबार नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का वडाध्यक्ष दिनेश घिमिरे, वडा नम्बर १ का वडाध्यक्ष नवराज राईलगायतले विज्ञप्ति जारी गर्दै ताला लगाउनुभएको हो।

कात्तिक ३ गते पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर नगरपालिकाभित्र सञ्चालन भइरहेका सम्पूर्ण योजनाको विवरण सार्वजनिक गर्दै ३५ दिनभित्र बेखबर बनेका निर्माण कम्पनी सम्पर्कमा आएर मासिक प्रगति विवरण बुझाउन नगरपालिकाले अनुरोध गरेको थियो। सम्पर्कमा नआउने कम्पनीलाई कारबाहीको लागि सिफारिस गर्ने नगरपालिकाले जनाएको थियो तर काम सम्पन्न नगरी निर्माण स्थलमा भएका मेसिनरी सामानहरू अन्यन्त्र लैजाने कोसिस गरेकाले ताला लगाइएको विज्ञप्तिमा उल्लेख छ। 

सडकको अवस्था नाजुक रहेको तर काम गर्न छाडेर निर्माण कम्पनी भाग्न खोजेपछि नगरप्रमुख तिर्थराज भट्टराईको निर्देशनमा ताला लगाइएको प्रवक्ता घिमिरेले बताउनुभयो। “सडकको स्तरोन्नति नहुँदा बिरामी, ज्येष्ठ नागरिक, बालबालिका, महिलालाई आवतजावतमा समस्या भएको छ। अन्य पालिकाबाट बिरामी जिल्ला अस्पताल ल्याउनसमेत हेलिकोप्टर चार्टर गर्नुपर्ने अवस्था छ। त्यसैले यो सडकको काम पुनः सञ्चालन नभएसम्मका लागि हामीले ताला लगाएका हौँ।” प्रवक्ता घिमिरेले भन्नुभयो।

यस्तै नगरपालिकाभित्र टेन्डर परेका अधिकांश योजनाहरू निर्माण कम्पनीले अलपत्र पारेकाले अब नगरपालिका चुपचाप नबस्ने नगरप्रमुख भट्टराईले बताउनुभयो। “नगरपालिकामा सडक स्तरोन्नति, ढलानलगायतका धेरै योजनामा टेन्डर परेको छ, कतिपय काम आधा पनि भएको छ तर निर्माण कम्पनीले योजनाहरू अलपत्र पारेर सम्पर्क विहीन बनेको अवस्था छ। त्यसैले अब हामी चुप बस्दैनौँ, कहाँ गएर आन्दोलन गर्नुपर्ने हो, कुन निकायमा गएर धर्ना बस्नुपर्ने हो, या तालाबन्दी गर्नुपर्ने हो त्यो हामी सबै गर्छौँ। हामीलाई काम छिटो चाहिएको छ,” भट्टराईले भन्नुभयो।