दीर्घकालीन रणनीतिले कोषको प्रभावकारिता बढाउने छ : पोखरेल

Ram k pokhrelबचत र लगानी प्रोत्साहित गर्न पच्चीस वर्षअघि थोरै पुँजीबाट स्थापना भएको नागरिक लगानी कोष अहिले मुलुककै निक्कै ठूलो संस्था भएको छ  करिब ५८ अर्ब रुपियाँ बचत परिचालन गर्न सक्षम यो कोषका चार लाख ६० हजार निक्षेपकर्ता छन्ध्र राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्थामा लामो अनुभव सम्हाल्नुभएका रामकृष्ण पोखरेल अहिले कोषको कार्यकारी निर्देशक हुनुहुन्छ  कोषले भर्खरैमात्र (चैत ४ गते) रजत महोत्सव मनाएको सन्दर्भ समेतको अवसरमा प्रस्तुत छ – कोषका निर्देशक पोखरेलसँग गोरखापत्रका लागि जुनारबाबु बस्नेतले गरेको कुराकानी :

 

- नागरिक लगानी कोषले स्थापनाको २५ वर्ष भर्खरै मनायो । कोषलाई सर्वसाधारणले कसरी चिन्ने ?

नागरिक लगानी कोष अहिले चार लाख ६० हजार कर्मचारीहरूसँग प्रत्यक्ष सरोकार राख्छ । उहाँहरू यसका कुनै न कुनै योजनामा सहभागी हुनुभएको छ । बचत गर्न प्रोत्साहन गरी त्यस्तो बचतलाई लगानीमा रूपान्तरण गर्दै मुलुकको आर्थिक तथा सामाजिक विकासमा कोष अग्रसर छ । पुँजी निर्माणमा यसको भूमिका महत्वपूर्ण छ र अझ महत्वपूर्ण हुँदै छ । हालसम्म कोषको कार्यक्षेत्र शहर (काठमाडौँ) केन्द्रित जस्तै भयो र संस्थागत कर्मचारी यसको दायरामा रहे । कोषको सेवालाई विस्तार गर्न पोखरा र विराटनगरमा शाखा विस्तार गरिएको छ । सेवामा पनि विविधीकरण गर्ने दिशामा अग्रसर छ । स्वदेशको ग्रामीण तहसम्म र विदेशमा काम गरिरहेका नेपाली दाजुभाइलाई पनि कोषका कार्यक्रमसँग आबद्ध गर्न गृहकार्य भइरहेको छ । कोषले उच्च प्रतिफल दिने आफ्नो चिनारी अझ फराकिलो बनाउँदै छ ।

कोषले अहिले प्रदान गरिरहेका सेवाहरु के के हुन् ?

नागरिक एकाङ्क योजना कोषका पुरानो कार्यक्रम हो । सहभागीलाई राम्रो प्रतिफल दिइरहेको छ । आठ प्रतिशतको प्रतिफल दिने योजना त अब्बल नै हो । त्यस्तै कर्मचारी बचत वृद्धि कोष, उपदान कोष, पेन्सन कोष, शिक्षकहरूको बीमा कोष लगायतका अनेक कार्यक्रम छन् । कोषका कार्यक्रममा सहभागी हुँदा आयकर छुटको व्यवस्था छ र त्यसले कर्मचारीलाई आकर्षण गरेको छ । राष्ट्रिय बचत दर न्यून भएको नेपालजस्तो मुलुकका लागि कोषले बचत वृद्धिमा प्रभावकारी भूमिका निर्वाह गरेको छ । कोषले ५८ अर्ब रुपियाँ हाराहारीमा निक्षेप पु¥याइसकेको छ । लगानीलाई सुव्यवस्थित गरेको छ । वास्तवमा बचत नै लगानी जुटाउने आधार भएकोले बचतलाई अझ प्रोत्साहित गरी देश विकासमा स्रोत जुटाउन कोष दीर्घकालीन रणनीतिमार्फत दिगो र सिर्जनात्मक तवरले अगाडि बढ्नेछन् । कोषका सेवाहरू त्यस दिशातिर अग्रसर छन् ।

- बजारमा तरलता बढिरहेको छ र कोषसित लगानीयोग्य पुँजीमा बढोत्तरी आउनेक्रम पनि तीव्र हुँदै छ । कोषको लगानी रणनीति कस्तो छ ?
कोषका लगानी न्यून जोखिम र उच्च प्रतिफलतिर अग्रसर छ । कार्यक्रममा सहभागी भएका कर्मचारीहरूले नै सापटी पाउने व्यवस्था छ । यो लगानीभन्दा पनि सेवाजस्तै हो । उच्च प्रतिफल दिन सक्ने आयोजनाहरूमा कोषले लगानी गर्छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा कोष सहभागी छ । पुँजी बजारमा लगानी गर्नु, मर्चेन्ट बैङ्किङ सेवा प्रदान गर्नु, कम्पनीको अवस्था हेरी प्राथमिक (आईपीओ) शेयरहरूमा लगानी गर्नु लगानीका क्षेत्र हुन् । पुँजी बजारको स्थायित्व र विकासका लागि कोषको भूमिका अझ विस्तार हुने क्रममा छ । त्यसतर्फ अहिले मिहिन गृहकार्य भइरहेको छ ।

- कोषले लगानीकर्ता र कार्यक्रमका सेवाग्राहीलाई के कस्तो प्रतिफल दिइरहेको छ ?
सानो पुँजीबाट कोष शुरु भएको हो । कोषको चुक्ता पुँजी स्थापना कालमा दुई करोड ६० लाख रुपियाँ थियो । अहिले ४५ करोड पुगेको छ । हकप्रद शेयर जारी नगरी लाभांश शेयरबाटै कोषले यो अवस्था आर्जन गरेकोले होला लगानीकर्ता र पुँजी बजारमा कोषप्रति ठूलो आकर्षण छ । कोष पुँजी निर्माणमा तीव्रताका साथ अगाडि बढिरहेकोले यो आकर्षण अझ बढ्ने निश्चित छ । उच्च प्रतिफल दिन सक्ने संस्थाहरूमध्ये कोष अग्रस्थानमै छ ।

- सेवा विस्तारका क्रममा गाउँ पनि र विदेश पनि जाने रणनीतिको कुरा गर्नुभयो । त्यसलाई अझ स्पष्ट गर्नुहुन्छ कि ?
कोषको कार्यालय राजधानी काठमाडौंमा मात्रै थियो । पोखरा र विराटनगरमा शाखा विस्तार गरियो । सेवालाई विकेन्द्रित गर्न यो अभियानले सहयोग पु¥याउँछ । निक्षेप र लगानीका अरु सेवा विस्तार गर्ने आधार खडा हुन्छ । कर्मचारी र संगठित क्षेत्र बाहिर पनि सेवा समेट्न जान सकिने सम्भावनातिर विचार गर्न सहयोग गरेको छ । अर्को कुरा धेरै नेपाली दाजुभाइ अहिले वैदेशिक रोजगारीमा छन् । झण्डै ४० लाख नेपाली । उनीहरू आर्जनको सबैजसो अंश उपभोगमा खर्च भइरहेको छ । त्यसरी न उनीहरूको हित हुन्छ न मुलुकको हित ।
वैदेशिक रोजगारीको आर्जनलाई बचतमा आकर्षित गरी लगानीमा रूपान्तरण गर्नु बान्छनीय छ । कोषको दीर्घकालीन रणनीति गाउँदेखि विदेशसम्म समेट्न अग्रसर छ र त्यसले कोषको प्रभावकारिता बढाउने छ ।

- यति ठूलो सपनाका लागि कोषसित आन्तरिक क्षमता छ ?
लगभग एकसय कर्मचारीबाट किफायती तवरले कोषले काम गरिरहेको छ । कोष नयाँ जनशक्ति व्यवस्थापनमा पनि छ भने भएको जनशक्तिलाई आधुनिक व्यवस्थापकीय तौरतरिकाबाट अझ दक्ष बनाउन पनि प्रयासरत छ । सूचना प्रविधितिरको अग्रसरता,पारदर्शिता र सुशासनप्रतिको कोषका प्रतिबद्धताले कोषको क्षमता विस्तारमा व्यापकता ल्याउने छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना