• १३ वैशाख २०८१, बिहिबार

रुपन्देही २ मा विष्णु पौडेललाई थापाले चुनौती दिँदै

blog

पुरानै प्रतिद्वन्द्वी विष्णु पौडेल र नयाँ अनुहार केशवबहादुर थापा । तस्बिर: गोरखापत्र

बुटवल, कात्तिक २१ गते । रुपन्देही निर्वाचन क्षेत्र नं. २ बाट तीन तीन पटक निर्वाचन जितेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र गठबन्धनको समर्थन पाउनु भएका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा चुनावी प्रतिस्पर्धा हुँदैछ । 

पौडेल यो क्षेत्रको चिरपरिचित उम्मेदवार हो भने थापा नयाँ अनुहार । थापा यो क्षेत्रबाट प्रतिनिधि सभाका लागि नयाँ अनुहार भए पनि राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष हुनुहुन्छ । शिक्षक पेसा छाडेर राजनीतिमा लागेका थापा धेरै समय पार्टीको महासचिव हुनुहुन्थ्यो ।  

त्यसअघि गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका राजु गुरुङको लामो समयसम्म उम्मेदवारी अन्यौलताका कारण चुनावी गतिविधि सुस्ताएको रुपन्देही २ मा बिस्तारै निर्वाचन केन्द्रित गतिविधि बढेको छ । 

सर्वोच्च अदालतले निर्वाचन आयोगको गठबन्धनका तर्फबाट रुपन्देही २ मा उम्मेदवारी गुरुङको उम्मेदवारी खारेजको निर्णय सदर गरेपछि गठबन्धन दलले राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गर्ने निर्णय गरेको हो । त्यसमा पनि राष्ट्रिय जनमोर्चा यो क्षेत्रमा गठबन्धनबाट अलग भएको छ । राष्ट्रिय जनमोर्चाले रुपन्देही २ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार सुन्दर वासीलाई समर्थन गरेको छ ।

रुपन्देही २ बाटै उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसालको उम्मेदवारी समेत सर्वोच्च अदालतले खारेज गरेपछि अव मैदानमा नेकपा एमालेका तर्फबाट विष्णु पौडेल र गठबन्धनका तर्फबाट राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा बिच मुख्य प्रतिस्पर्धा हुनेछ ।   गठबन्धनको समर्थन पाएपछि राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापाले अहिले चुनाव केन्द्रित गतिविधि तीव्र बनाउनु भएको छ ।    

यो क्षेत्रमा नेकपा एमालेका नेता विष्णु पौडेलको प्रभाव छ । पौडेललाई टक्कर दिन गठबन्धनले एकीकृत नेकपा समाजवादीका जिल्ला अध्यक्ष राजु गुरुङलाई उम्मेदवार बनाएको थियो । गुरुङको उम्मेदवारी खारेज भएपछि केही समय गठबन्धन समस्यामा परेको थियो । पछि गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीलाई समर्थन गर्‍यो । 

अव यो क्षेत्रमा तीन तीन पटक निर्वाचन जितिसकेका पौडेलसँग चुनावी प्रतिस्पर्धा गर्न पहिलो पटक चुनावी मैदानमा आएका थापालाई सजिलो भने छैन ।  रुपन्देही क्षेत्र नम्बर २ मा बुटवल उपमहानगरपालिकाको वडा नम्बर १ देखि १३ सम्म, सैनामैना नगरपालिकाको वडा नम्बर १, २, ३, ४ र तिलोत्तमा नगरपालिकाको १, २, ३, ४, ५ र ६ पर्छ । 

वैशाखमा भएको स्थानीय पालिका निर्वाचनमा यी तिनै पालिकाको प्रमुख नेपाली काँग्रेसले जितेको छ । जबकि २०७४ सालको स्थानीय निर्वाचनमा यी तिनै पालिका एमालेले जितेको थियो । स्थानीय निर्वाचनको नतिजाको प्रभाव सङ्घीय निर्वाचनमा पनि पर्‍यो भने पौडेल र थापाबिच कडा प्रतिस्पर्धा हुनेछ ।

निर्वाचन आउन १३ दिन मात्र बाँकी रहँदा दुवै उम्मेदवारले चुनावी गतिविधि अन्तर्गत घरदैलोको कार्यक्रमलाई जोड दिएका छन् । 

Author

छविलाल पाण्डे