• १५ चैत २०८०, बिहिबार

प्रतिगामी शक्तिलाई पराजित गर्न नसके, लोकतन्त्रमाथि गम्भीर खतरा : अध्यक्ष भट्टराई

blog

निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धन गोरखाका उम्मेदवारको परिचयात्मक तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई । तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौं, कात्तिक १७ गते । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा प्रतिगामी शक्तिलाई परास्त गर्न नसके सङ्घीय लोकतान्त्रिक गणतन्त्र गुम्ने खतरा रहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरुको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष भट्टराईले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘‘अहिलेको अवस्था विशिष्ट हो । २०७२ सालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गर्‍यौं । त्यसैभित्र रहेर लुकेर बसेका शक्तिहरु तिनले संविधानलाई उल्ट्याउने दुष्प्रयत्न गरे । तिनलाई अघि सारेर प्रतिगामी शक्ति, राजावादी शक्तिले बोकेर यो संविधानलाई धरापमा पार्ने प्रयत्न गरे । कुचेष्टा गरे, त्यसकै विरुद्धमा अहिले हाम्रो यो गठबन्धन हो । यो निर्वाचनमा पनि प्रतिगमनकारी शक्तिलाई पराजित गर्न सकेनौँ भने, फेरि अघि आउन दियौँ भने सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि गम्भीर खतरा छ ।’’

पूर्व प्रधानमन्त्री समेत रहनुभएको अध्यक्ष भट्टराईले ६५ वर्ष लडेर ल्याएको व्यवस्था फेरि गुम्यो भने अर्को पुस्तालाई लड्ने समय नहुने भएकाले आगामी निर्वाचनमा गठबन्धनलाई जिताउनुको विकल्प नरहेको स्पष्ट पार्नुभयो । उहाँले जनताका आकांक्षाहरु दिनप्रतिदिन बढिरहेकाले त्यसलाई पूरा गर्न गठबन्धन बनेको दाबी गर्नुभयो ।

अध्यक्ष भट्टराईले मङ्सिर ४ को निर्वाचनले प्रतिगामी शक्तिलाई निर्णायक ढङ्गले धक्का दिने उल्लेख समेत गर्नुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जरो राम्रोसँग नबसेको उल्लेख गनुहुँदै आफूले माओवादीसँग सहकार्य गरिरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘जनताका आकांक्षा धेरै अघि गइसके, त्यसैले यसको रक्षा गर्नका लागि हामी एक ठाउँमा आएका हौँ । मङ्सिर ४ को निर्वाचनले प्रतिगामी शक्तिलाई निर्णायक ढङ्गले धक्का दिन्छ । अग्रगामी शक्तिलाई स्थापित गर्छ । त्यस अर्थमा हाम्रो सहकार्य हो । अहिलेसम्म यसको जरो त राम्रोसँग गडेकै रहेनछ । जबसम्म लोकतान्त्रिक गणतन्त्रको जरो गाडिँदैन, यसको जगमा विकास र समृद्धिको न्यूनतम आधार तयार हुँदैन त्यतिबेलासम्म हामीले फेरि सहकार्य गरेर जानुपर्छ ।’’

उहाँले लोकतान्त्रिक गणतन्त्रको जरो राम्रोसँग नगडेसम्म र विकास र समृद्धिको न्यूनतम आधार तयार नभएसम्म माओवादीहरु मिलेर सहकार्य गर्नुको विकल्प नरहेको बताउनुभयो ।

अध्यक्ष भट्टराईले आफ्नो लक्ष्य नेपालीको विकास, समृद्धि र खुशीयाली भएको दाबी गर्नुभयो । समृद्धि र विकासको काममा पनि गोरखाले नै अग्रणाी भूमिका खेल्ने बताउनुभयो ।