• १६ चैत २०८०, शुक्रबार

यातायात सुचारु गर्न न्यालुमा हिउँ पन्छाउने कार्य सुरु

blog

न्यालु लेकमा हिँउ फाल्दै यात्रुहरु । तस्बिर – राजन रावत, हुम्ला

राजन रावत

हुम्ला, कात्तिक १६ गते । पाँच हजार मिटर अग्लो स्थानको न्यालु लेकमा जमेको हिउँ पन्छाएर यातायात सुचारु गर्ने कार्य सुरु भएको छ । नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउका लागि मेसिन र यात्रुहरू मिलेर सो हिउँ फाल्ने कार्य गरिएको हो । 

गाडी चालक सिंगम भण्डारीले करिब एक महिना अवरुद्ध भएको लिमीको यातायात सुचारु गर्न न्यालु लेकको कच्ची सडकमा जमेको हिउँ पन्छाउने कार्य सुरु भएको बताउनुभयो । उहाँले सडकको हिउँ फाल्ने कार्य सुरु भएको भए पनि हिउँ बाक्लो जमेको कारण पन्छाउन कठिन भइरहेको बताउनुभयो ।

उहाँले केही हिउँ फाल्ने कार्य भएको र यो क्रम जारी रहेको बताउँदै कति दिनमा हिउँ फाल्न सकिन्छ भन्ने कुरा भने यसै भन्न नसकिने बताउनुभयो । न्यालु लेकमा चारदेखि पाँच फिट हिउँ जमेको छ । यसका लागि मेसिन र मानिस मिलेर हिउँ फाल्ने कार्य गरिँदै आएको छ ।

दश दिन अघि पनि सो हिउँ मेसिनबाट पन्छाउने कार्य गर्न खोजिएको भए पनि त्यो सफल हुन सकेको थिएन । अहिले पुनः हिउँ फाल्ने कार्य सुरु गरिएको हो । हिउँ बाक्लो जमेको कारण लिमीका स्थानीय बाहेक अन्य कोही पनि लिमी जान सकेका छैनन् ।

एक हप्ता अघि लिमीका वडा अध्यक्ष पाल्जोर तामाङसहित चार जनाको टोली पैदलै हिउँ छिचोल्दै लिमी पुग्नुभएको थियो । त्यसयता भने अन्य कोही पनि लिमी जान सकेको छैन ।

न्यालु र नारा लेकमा हिउँ जमेकै कारण मङ्सिर ४ गतेको निर्वाचनका लागि राजनीतिक दलहरू र पार्टीका नेताहरु समेत लिमी पुग्न सक्नुभएको छैन।