• ८ वैशाख २०८१, शनिबार

कृष्णपुर नगरपालिकालाई जग्गा नापजाँच रोक्न निर्देशन

blog

काठमाडौं, कात्तिक १६ गते । निर्वाचन आयोगले कञ्चनपुरको कृष्णपुर नगरपालिका निर्वाचन आचारसंहिता विपरीत राष्ट्रिय भूमि आयोगमार्फत जग्गा वितरणको प्रयोजनार्थ भइरहेको जग्गा नापजाँच तत्काल रोक्न निर्देशन दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै आयोगले यस्तो निर्देशन दिएको हो ।

जिल्ला निर्वाचन कार्यालयलाई बोधार्थ दिइएको पत्रमा आयोगले दुई दिनभित्र यसबारे निर्णय गरेर जानकारी गराउन पनि निर्देशन दिएको छ ।

‘आयोगबाट यसपूर्व नै प्रतिनिधि सभा सदस्य निर्वाचन र प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न नभएसम्मका लागि आफू र आफ्नो मातहतबाट हुने र भइरहेका जग्गा वितरण सम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपुर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्यहरू तत्काल स्थगित गर्न भूमि आयोग, ताहाचल, काठमाडौँलाई निर्देशन दिने निर्णय’ भएको तथा त्यसबारे भूमि आयोगलाई पत्राचारसमेत भइसकेको उल्लेख गरिएको छ ।

स्पष्टीकरण पत्रमा भनिएको छ, ‘त्यस नगरपालिकाले समेत आफू र आफ्नो मातहतबाट भइरहेका जग्गा नापजाँच लगायतका कार्यहरू तत्काल स्थगित गरी प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न नभएसम्म उक्त कार्यहरू नगर्न निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (२) बमोजिम निर्देशन दिइएको ब्यहोरा निर्णयअनुसार अनुरोध छ ।’