• १६ चैत २०८०, शुक्रबार

ठूला पूर्वाधारमा सहयोगका लागि आग्रह

blog

काठमाडौँ, कात्तिक १६ गते । नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डिन आर थम्पसनले अर्थमन्त्री जनार्दन शर्मासँग मङ्गलबार शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा अर्थमन्त्री शर्माले नेपाललाई अहिले ठूला पूर्वाधारमा सहयोग आवश्यक रहेको बताउँदै त्यसका लागि अमेरिकाको सहयोगको अपेक्षा गर्नुभयो । 

उहाँले सङ्कटका बेला गरेको सहयोगप्रति अमेरिकी सरकार र जनतालाई राजदूत थम्पसनमार्फत धन्यवाद ज्ञापन गर्नुभयो । अमेरिकाले नेपाललाई सङ्कट परेका बेला महत्वपूर्ण सहयोग गर्दै आएको चर्चा गर्दै उहाँले भूकम्प, कोरोना महामारीलगायतका सङ्कटमा अमेरिकाले गरेको सहयोगप्रति धन्यवाद दिनुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । 

यूएसएडलगायतका अमेरिकी नियोगहरूमार्फत नेपालमा निर्माण भइरहेका आयोजनाहरू सफलतापूर्वक सम्पन्न हुनेमा पनि मन्त्री शर्माले विश्वास व्यक्त गर्नुभयो । त्यस्तै नेपालले पर्यावरणसम्बन्धी समस्या भोग्दै आइरहेको तर पनि ‘क्लाइमेट फन्ड’को रकम प्रयोग गर्न नपाइरहेको बताउँदै उहाँले त्यसमा सहजीकरण गरिदिन पनि अमेरिकी सरकारलाई आग्रह गर्नुभयो ।

भेटमा मन्त्री शर्माले नवनियुक्त राजदूत थम्पसनलाई उहाँको नेपाल बसाइ सुखद् होस् भन्दै सफल कार्यकालको शुभकामनासमेत व्यक्त गर्नुभयो ।

राजदूत थम्पसनले अमेरिका नेपालमा उत्पादित विभिन्न वस्तुको निर्यातलगायतका क्षेत्रमा समेत सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले नेपाल र अमेरिकाको द्विपक्षीय हितका लागि अमेरिका कटिबद्ध रहेको बताउनुभयो । 

“नेपालको सामाजिक, आर्थिकलगायतका क्षेत्रमा सहयोग गर्न अमेरिका सदैव कटिबद्ध छ,” उहाँले भन्नुभयो । भेटका अवसरमा उहाँले नेपालसँग जोडिएर आफू काम गर्न सधैँ उत्सुक रहेको बताउनुभयो । यसैगरी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ ।

प्रचण्डको सचिवालयले जनाएअनुसार भेटवार्तामा दुई देशबीचको सम्बन्ध, नेपालको राजनीति तथा आर्थिक विकासका विभिन्न पक्षबारे छलफल भएको थियो । भेटमा अध्यक्ष प्रचण्डले नेपालको विकासमा अमेरिका र अमेरिकी जनताले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्नुभएको थियो ।

साथै उहाँले नेपाल र अमेरिकाबीच वर्षौंदेखिको मित्रवत् सम्बन्ध रहेको चर्चा गर्दै नवनियुक्त राजदूत थम्पसनलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उहाँको कार्यकालमा नेपाल–अमेरिकाबीचको सम्बन्ध अझै प्रगाढ रहने आफूले विश्वास गरेको बताउनुभएको थियो ।

अध्यक्ष प्रचण्डले आफूहरू मुलुकको आर्थिक समृद्धिको अभियानमा रहेको बताउँदै यसमा अमेरिकाको सहयोग आवश्यक रहेको बताउनुभयो । 

राजदूत थम्पसनले प्राकृतिक र सांस्कृतिक विविधताले भरिएको सुन्दर मुलुक नेपाल आउँदा खुसी लागेको बताउनुभयो । साथै उहाँले नेपालको दिगो र समावेशी आर्थिक विकासको लक्ष्य हासिल गर्न अमेरिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसैबीच नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि अमेरिकी राजदूत थम्पसनबीच भेटघाट भएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्‍डामा मङ्गलबार भएको भेटघाटमा दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । थम्पसनले राजदूतको कार्यभार सम्हालेसँगै प्रधान सेनापति शर्मा र थम्पसनबीच पहिलो भेटवार्ता भएको हो । यस किसिमको भेटवार्ताले दुई देशबीचको सम्बन्ध थप सुमधुर हुने विश्वास लिइएको नेपाली सेनाले जनाएको छ ।