• ६ वैशाख २०८१, बिहिबार

आयोगले उम्मेदवार र शिक्षकसहित नौ जनालाई सोध्यो स्पष्टीकरण

blog

निर्वाचन आयोग । फाइल तस्बिर

काठमाडौं, कात्तिक १५ गते। निर्वाचन आयोगले मंगलबार प्रतिनिधिसभा सदस्य उम्मेदवार र शिक्षकसहित नौ जनालाई स्पष्टीकरण सोधेको छ। पदीय दायित्वसमेत ख्याल नगरी निर्वाचनसम्बन्धी दलका बैठक, भेलालगायत कार्यक्रममा सहभागी हुने उम्मेदवार र शिक्षकलाई स्पष्टीकरण सोधेको आयोगले बुलेटिनमार्फत जानकारी गराएको हो। स्पष्टीकरण २४ घण्टाभित्र आयोगमा वा जिल्ला निर्वाचन कार्यालयमा प्राप्त हुने गरी पेस गर्न भनेको छ।

आयोगले नेपाली कांग्रेसको तर्फबाट पर्वतका प्रतिनिधिसभा सदस्यका उम्मेदवार अर्जुनप्रसाद जोशी, पर्वतको कुस्मा नगरपालिकास्थित नारायणी माध्यमिक विद्यालयका शिक्षक सुभन्तराज सुवेदी, जलजला गाउँपालिका अध्यक्ष राजु आचार्य, पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष राम शर्मा लामिछाने, राष्ट्रिय भूमि आयोग पर्वतका अध्यक्ष उदय सुवेदी, सप्तरीको राजविराज नगरपालिकाका शाखा अधिकृत मनोजकुमार यादव, महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालय, मुसिकोटका प्रधानाध्यापक अनन्तलाल भण्डारी र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को सरस्वती माध्यमिक विद्यालयका शिक्षक कृष्ण तिवारीलाई स्पष्टीकरण सोधेको हो। 

जोशीलाई आयोगले पर्वतको पञ्चकोशी माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको विषयमा स्पष्टीकरण सोधिएको हो। सुवेदीलाई राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको विषयमा स्पष्टीकरण सोधेको छ। आचार्यलाई आफू बहाल रहेको स्थानीय तहमा राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको विषयमा स्पष्टीकरण सोधिएको हो। 

लामिछानेलाई आफू बहाल रहेको स्थानीय तहमा राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको विषयमा स्पष्टीकरण मागेको छ। विद्यालयका शिक्षकलाई राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको विषयमा स्पष्टीकरण सोधिएको छ। 

भण्डारीले एकीकृत समाजवादी पार्टीको लुम्बिनी प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा रहेको तथा निर्वाचन घोषणा भएपछि चुनावी कार्यक्रम तथा बैठकमा सहभागी हुँदै आएकाले स्पष्टीकरण सोधिएको छ भने तिवारीलाई राजनीतिक संलग्नताका विषयमा स्पष्टीकरण सोधेको आयोगले जनाएको छ।