• ७ वैशाख २०८१, शुक्रबार

‘चुनावपछि लोकतान्त्रिक वाम गठबन्धनको सरकार बन्छ’

मत माग्‍न जनताको घरघरमा जानुहोस् : मन्त्री कार्की

blog

सुनसरीको सदरमुकाम इनरुवा–४ मा लोकतान्त्रिक वाम गठबन्धनको संयुक्त कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की । तस्बिर : अजितकुमार झा/रासस

इनरुवा, कात्तिक १५ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मत माग्न जनताको घरघरमा जान नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ। 

सुनसरी सदरमुकाम इनरुवा-४ मा मंगलबार लोकतान्त्रिक वाम गठबन्धनको संयुक्त कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै यस्तो बताउनुभएको हो। “सडकमा हिँडेर, घरमा सुतेर, नेतालाई फोन गरेर भोट आउँदैन”, उहाँले भन्नुभयो, “जनताका घरघरमा गएर लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्नुस्।”

उहाँले अहिले मुलुकमा गठबन्धनको आवश्यकता रहेको र निर्वाचनपछि पनि गठबन्धनकै बहुमतको सरकार निर्माण हुने बताउनुभयो। विसं २०७४ को निर्वाचनमा एमाले र माओवादी गठबन्धन भएकाले झन्डै दुई तिहाइ सिट ल्याए जस्तै मङ्सिर ४ गते हुने निर्वाचनबाट सत्तारूढ गठबन्धनले दुई तिहाइ सिट ल्याउने मन्त्री कार्कीले दाबी गर्नुभयो। 

उहाँले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउने गरी लाग्न गठबन्धनका कार्यकर्तालाई निर्देशन दिनुभएको छ। मन्त्री कार्कीले पाँच वर्षको अवधिमा आफूले गरेका कामका विषयमा जनतासामु प्रचारप्रसार गर्न कार्यकर्तालाई आग्रह पनि गर्नुभयो। लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभातर्फ सुनसरी क्षेत्र नम्बर ४ का उम्मेदवार मन्त्री कार्कीले २०७४ सालको निर्वाचनका बेला जनतासामु आफूले गरेका प्रतिबद्धतामा ८० प्रतिशत पूरा भएका पनि स्पष्ट पार्नुभयो। 

गठबन्धनको सरकार निर्माण भएपछि मात्र प्रजातन्त्र र संविधानको रक्षा हुने उहाँको दाबी थियो। उहाँले गठबन्धनको सरकारबाट मुलुक स्थिरता र समृद्धिको बाटोमा अगाडि बढ्ने दाबी गर्नुभयो।रासस