• १६ चैत २०८०, शुक्रबार

भंगहा घटनाको छानबिन गर्न अनुसन्धान टोली घटनास्थलमा

blog

राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीमा छानबिन टोलीका सदस्य। तस्बिर : नरेन्द्रकुमार कर्ण

नरेन्द्रकुमार कर्ण

महोत्तरी, कात्तिक १५ गते । भंगहा नगरपालिकामा कात्तिक १० गते भएको घटनाको छानबिन गर्न गृहमन्त्रालयद्वारा गठित टोली घटनास्थल पुगेको छ। 

जिल्लाको भंगहा नगरपालिका वडा नम्बर ८ पडरियामा कात्तिक १० गते बिहीबार हिन्दु–मुस्लिम पक्षबीच दङ्गा भएको थियो। घटना लगत्तै अनुसन्धानका लागि गृहमन्त्रालयले सहसचिव शिवराम पोखरेलको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको थियो। 

पोखरेलको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्धान विभागका सह अनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृहमन्त्रालयका उपसचिव विश्वराज मरासेनी सदस्य रहेको पाँच सदस्यीय उच्च छानबिन समिति बनाएको हो।

समितिले सोमबार पडरिया पुगेर घटनामा संलग्न दुवै पक्षसँग छुट्टाछुट्टै छलफल गरेको छ। महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले छानबिन टोली पडरिया पुगेर घटनाका सम्बद्ध दुवै पक्ष (मुस्लिम–हिन्दु) घटनास्थलमा खटेका सुरक्षाकर्मी, लोहारपट्टी र भंगहा नगरपालिकाका नगरप्रमुखसँग छुट्टाछुट्टै भेटेर घटनाको विवरण लिएको जानकारी दिनुभयो।

त्यसैगरी छानबिन टोलीले घटनाको क्रममा भएको क्षतिको अवलोकन, घाइते तथा उसका परिवारसँग भेटघाट गर्नुका साथसाथै घटनासँग विवादित क्षेत्रको अध्ययन अवलोकनसमेत गरेको सहायक प्रजिअ न्यौपानेले जानकारी दिनुभयो। एक हप्ताभित्रै घटनाको प्रतिवेदन बुझाउने समय सीमा तोकिएकोले छानबिन टोलीले कामलाई तीव्रता दिएको उहाँको भनाइ छ। 

कात्तिक १० गते पडरियामा हिन्दु बाहिनी सेना सम्राट्ले छठ पर्वको अवसरमा निकालेको कलश तथा सीता रामसहितको मूर्ति राखिएको यात्राको क्रममा पडरिया चोकको गोलम्बरमा झण्डा झुण्ड्याउन खोज्दा अर्को पक्षबाट ढुंगामुढा भएपछि स्थिति तनावग्रस्त भएको थियो। 

विवादले उग्र रूप लिँदा सुरक्षा निकायले स्थितिलाई नियन्त्रणमा लिन दर्जनौँ राउण्ड हवाई फायर गर्नुका साथै दर्जनौँ व्यक्ति, सुरक्षाकर्मी घाइते  भएका थिए। सो क्रममा जिल्ला प्रशासन कार्यालयले स्थिति नियन्त्रणमा लिन कफ्र्यू लगाएको थियो।

मंगलबार पाँच सदस्यीय छानबिन टोलीले महोत्तरीका सुरक्षा निकायसँग घटनाबारे जानकारी लिनुका साथसाथै महोत्तरीका प्रसिद्ध जलेश्वरनाथ महादेव मन्दिर, मटिहानीको लक्ष्मीनारायण मठ तथा नेपालकै पहिलो विद्यालयको रूपमा रहेको राजकीय संस्कृत माध्यमिक विद्यालयमा पुगेर दर्शन र निरीक्षण गर्नुभएको छ।