• १२ वैशाख २०८१, बुधबार

जनकपुरधामलाई व्यवस्थित बनाउने प्रयास निरन्तर जारी

blog

जनकपुरधाको सरसफाइमा लाग्नुभएका नगरप्रमुख मनोजकुमार साह ।

लक्ष्मी चौधरी 

जनकपुरधाम, कात्तिक १५ गते । जनकपुरधाम उपमहानगरपालिका पुनः व्यवस्थित हुन थालेको छ । जनकपुरधामको बजार तथा फोहोर व्यवस्थित गर्न छठको दोस्रो दिनदेखि नै उपमहानगरपालिकाका कर्मचारी निरन्तर खटिएका छन् । 

दशैं, दीपावली र छठ पर्व समापन नभएसम्म जनकपुरधामका सडकपेटीमा फुटपाथ बजार र चाड पर्वमा लागि चाहिने आवश्यक सामग्रीबाट निस्केका अनावश्यक वस्तुले मुख्य बजारका सडक अस्तव्यस्त देखिएको थियो । चाड सकिएलगत्तै जनकपुरधामका फोहोर उठ्न थालेका छन् भने फुटपाथ बजार पनि हटाइएको छ ।   

जनकपुरधामको अव्यवस्थित बजारीकरणलाई व्यवस्थित र जथाभाबी फालिएका फोहोरलाई उठाउन जनकपुरधामका प्रमुख मनोजकुमार साह आफू निर्वाचित भएदेखि नै निरन्तर लागिरहनुभएको छ । नगर प्रमुखको निरन्तर प्रयासका बाबजुद पनि चाड पर्वका बेला मेला बजार उस्तै अस्तव्यस्त देखिएको पनि पुनः व्यवस्थित गर्न तर्फ निरन्तर लाग्ने प्रमुख साहको भनाइ छ ।

उहाँ भन्नुहुन्छ ‘के गर्नु ? फुटपाथमा राखिएका बजार कहिले रोजीरोटी कहिले चाड पर्वमा लागिने मेलाका नाममा पुनः पुरानै शैलीमा बजार राख्न थालेपछि चाड पर्वमा हटाइएन तर, अब निरन्तर लागिरहेको छु,’ 

९ कठ्ठा जग्गामा फुटपाथ पसलहरूलाई व्यवस्थित गर्ने योजना रहेको उहाँले जानकारी समेत दिनुभयो । 

चाड पर्वमा लाग्ने मेलाका नाममा फुटपाथ व्यापारी उपमहानगरपालिकाको नियम विपरीत फुटपाथमा बजार लगाउन थालेपछि बजार अस्तव्यस्त देखिएको हो, तर अब फेरि व्यवस्थित गर्नेतर्फ निरन्तर लाग्ने उहाँले जानकारी दिनुभयो । 

जनकपुरधामको प्रमुख समस्या फोहोर, छाडा चौपाया, अव्यवस्थित बजार र सवारी साधन पार्किङ व्यवस्थापन नहुनु रहेको यसको व्यवस्थापनका लागि उपमहानगरपालिकाले काम सुरु गरिसकेको जानकारी पनि प्रमुख साहले बताउनुभयो ।  

फोहोर सङ्कलनका लागि दीपावली अघि जनकपुरधाम उपमहानगरपालिकाले १ देखि ११ सम्मका वडालाई ११ वटा ट्र्याक्टर समेत वितरण गरेको बताउँदै फोहोर व्यवस्थापनको जिम्मेवारी पाएको संस्था अर्थ क्लिन ग्रीन फाउण्डेनले फोहोर व्यवस्थित गर्न जडान गरेको प्लान्टका लागि बत्ती जडान गरिने नगर प्रमुख साहले बताउनुभयो । 

फोहोर व्यवस्थापनका जनकपुरधामको वडा नं. १६ मा ६ कठ्ठा जग्गामा फोहोर व्यवस्थापन गरिँदैछ भने छाडा चैपाया व्यवस्थापनका लागि वडा नं. २५ मा गौशाला निर्माण हुँदैछ । यसैगरी उपमहानगरपालिकामा दर्ता हुन आएका फुटपाथ व्यापारीका लागि ९ कठ्ठा जग्गाको व्यवस्था भइसकेको जानकारी दिँदै पार्किङका लागि दशरथ तलाउ नजिक १६ कठ्ठा जग्गाको व्यवस्थापन भएको भएको बताउनुभयो ।  

यस्तै, जनकपुरधामको फोहोर व्यवस्थापनका लागि निरन्तर प्रयासमा लागेको अर्थ क्लिन ग्रीन फाउण्डेशनले जनकपुरधामको फोहोर व्यवस्थापनका लागि वडा नं. २३ विन्हीमा १२ कठ्ठा जग्गामा डम्पिङ साइड निर्माण गरिएको सोही फाउण्डेशनका अध्यक्ष दिपु ठाकुरले जानकारी दिनुभयो ।

साथै, ‘सफा सहर सबैको रहर’ नाराका साथ अगाडि बढेको सो फाउण्डेशनलाई जनकपुरधाम उपमहानगरपालिकाले वडा नंं. ४ को फोहोर सङ्कलन र व्यवस्थापनको जिम्मेवारी समेत दिएको अध्यक्ष ठाकुरले बताउनुभयो । जनकपुरधामको फोहोर व्यवस्थापनका लागि सहकार्य गर्न सदैव तयार रहने जानकारी समेत उहाँले दिनुभयो ।