• १३ वैशाख २०८१, बिहिबार

पर्यटकीय क्षेत्रमा चहलपहल बढ्दै

blog

हुप्सेकोट ४ मा अवस्थित झरना खोला । तस्बिर – मीना कँडेल

मीना कँडेल

कावासोती, कात्तिक १५ गते । पूर्वी नवलपरासीमा रहेका पर्यटकीय क्षेत्रमा चहलपहल बढ्दै गएको छ । अन्य समयमा सुनसान जस्ता देखिने पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक पर्यटकको चहलपहल देखिएको छ । 

नवलपुरमा रहेका धार्मिकसँगै अन्य मनोरम स्थलमा पर्यटकको चाप बढेको छ । नवलपुरमा रहेका पर्यटकीय क्षेत्रहरू त्रिवेणीधाम, मौलाकालिका, दाउन्ने, शाश्वतधाम , अकलादेवी, गंगेश्वरधाम, धार्मिक पर्यटकीय क्षेत्र बाहेक प्राकृतिक स्थानहरू अमलटारी, कुमसोत, झरना खोला, धौवादी, नारायणी तटीय क्षेत्रमा समेत आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।

नवलपुरको सदरमुकाम कावासोतीबाट उत्तर ८ किलोमिटरको दूरीमा हुप्सेकोटको झरना खोला गाउँ छ । शङ्खदेव र दक्षिण पश्चिममा पुरानो झाँते भन्ने गाउँ गजधम्म परेर बसेको छ ।  हुप्सेकोट ४ मा अवस्थित झरना खोलामा आन्तरिक पर्यटकको सङ्ख्या बढेसगै त्यहाँ रहेका चार होमस्टेको व्यवसायमा समेत राम्रो आम्दानी हुन थालेपछि व्यवसायी हर्षित भएका छन् । 

लायन्स क्लब अफ नवलपुर सिटीका अध्यक्ष लायन विश्वनाथ काफ्लेले भन्नुभयो “प्राकृतिक मनोरम वातावरण, अर्गानिक खाना, कौरा नाच, भेषभूषा सबैमा स्थानीयको मौलिकता पाउन सकिन्छ ।  

त्यसैले पनि आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।” झरना खोला होमस्टेका अध्यक्ष सागर गाहामगरले झरना खोलामा दैनिक एक सयभन्दा धेरै आन्तरिक पर्यटक आउने गरेको बताउनुभयो ।

जिल्लाको नारायणी तटीय क्षेत्रसहित मध्यवर्ती क्षेत्रमा जङ्गल सफारी, वन्यजन्तु अवलोकनका लागि पर्यटकको आगमन बढ्न थालेको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष नरबहादुर महतोले बताउनुभयो । यहाँ रहेका चारवटा सामुदायिक वनमा एकीकृत रुपमा वन्यजन्तु अवलोकनका लागि प्रबन्ध गरिएको छ । गैँडा अवलोकनका लागि अमलटारी क्षेत्र परिचित छ ।

दशैं तिहारमा बिदाको समय सदुपयोग गर्न र विशेषगरी यो समय घुमफिरका लागि उपयुक्त हुने भएकाले पनि धार्मिक पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल  भएको कावासोती –१५ का होमस्टे सञ्चालक धनिराम गुरौ बताउनुहुन्छ । जिल्लाका पर्यटकीय क्षेत्रमा सबैजसो आन्तरिक पर्यटककै उपस्थिति हुने गरेको छ । चाडबाडमा घुम्ने संस्कृतिको विकास हुँदा आन्तरिक पर्यटनको प्रवर्द्धनमा सहयोग पुग्न थालेको उहाँले बताउनुभयो ।

आगामी दिनमा झरना खोला पर्यटकीय गाउँको प्रवर्धनमा पालिकाले सघाउने हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले बताउनुभयो ।