• १२ वैशाख २०८१, बुधबार

बागलुङका ३५ प्रतिशत केन्द्र अति संवेदनशील

blog

नवीन शिशिर
बागलुङ, कात्तिक १५ गते ।
बागलुङका ३५ प्रतिशत मतदान केन्द्र सुरक्षाको दृष्टिले अति संवेदनशील सूचीमा राखिएको छ । सुरक्षाका दृष्टिकोणले तीन तहमा मतदानस्थललाई वर्गीकरण गरिएको हो । जिल्ला सुरक्षा समिति बागलुङले अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरेको छ ।    

प्रमुख जिल्ला अधिकारी रमेश ढकालका अनुसार १५ प्रतिशत मतदानस्थललाई संवेदनशील र ५० प्रतिशत मतदानस्थललाई सामान्यमा राखिएको छ । विगतको निर्वाचनमा देखिएका गतिविधि, अब हुन सक्ने गतिविधि, पूर्वाधारको विकास, सुरक्षा निकायको पहुँच, मतदाता र उम्मेदवारलाई आधार बनाएर मतदानस्थल वर्गीकरण गरिएको हो ।

गृह मन्त्रालयले मतदान स्थलको सुरक्षा संवेदनशीलताको हिसाaले गरिएको वर्गिकरण विषय सार्वजनिक नगर्न निर्देशन दिएकाले कुन–कुन मतदान स्थल संवेदनशील छन् भन्ने विषयमा सार्वजनिक नगरिएको ढकालले बताउनुभयो ।

अति संवेदनशील र संवेदनशील क्षेत्रका लागि विशेष सुरक्षा व्यवस्थस्थापन गरेको प्रजिअ ढकालले बताउनुभयो । सुरक्षाका लागि म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानको टोलीलाई परिचालन हुनेछन् । जिल्लामा कुल १०६ मतदानस्थल छन् । जसमा २३१ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोकुल शर्माले जानकारी दिनुभयो ।

स्थानीय तहको निवर्जाचन पश्चात मतदाताको सुविधालाई ध्यानमा राखेर बागलुङमा तीन मतदान स्थल परिवर्तन र तीन मतदानस्थल थप गरिएको छ । जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार ढोरपाटन नगरपालिका–६, ढोरपाटन नगरपालिका–२ र गलकोट नगरपालिका–१० मा एक÷एक वटा मतदान स्थल थप गरिएको छ ।

बागलुङ नगरपालिका–३ बौद्ध बिहारबाट, कालिका कन्या मावि, बागलुङ नगरपालिका–६ को वडा कार्यालयदेखि लहरेपिपल मावि र बडिगाड गाउँपालिका–८ सिद्धबारी प्राविबाट भृकुटी माविमा मतदान स्थल स्थानान्तरणको निर्णय गरेको निर्वाचन कार्यालयका सूचना अधिकारी शर्माले जानकारी दिनुभयो ।

स्थानीय तह निर्वाचनपछि जिल्लामा दुई हजार आठ सय नयाँ मतदाता थपिएका छन् । नयाँ थप भएका मतदाताले आगामी मङ्सिरमा हुने संघ र प्रदेश निर्वाचनमा मताधिकार हुनेछ । स्थानीय तहको निर्वाचनमा एक लाख ९३ हजार ६२४ मतदाता रहेकोमा अहिले एक लाख ९६ हजार २९७ जना मतदाता पुगे । जसमध्ये एक लाख नौ हजार ४० महिला र ९५ हजार पाँच सय १७ महिला मतदाता छन् ।