• १३ वैशाख २०८१, बिहिबार

सबै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी सम्पन्न

blog

निर्वाचन सामग्री ढुवानी गरिँदै । तस्बिर : निर्वाचन आयोग

काठमाडौं, कात्तिक १५ गते । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सबै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी कार्य सम्पन्न भएको छ ।

यीमध्ये डोल्पा, मुगु, जुम्ला, हुम्ला, बाजुरा, गोरखा, मनाङ र सिन्धुली जिल्लालाई आवश्यक पर्ने सम्पूर्ण सामग्री ढुवानी सम्पन्न भएको छ भने बाँकी जिल्लामा थप सामग्री दोस्रो चरणमा लगिने कार्यक्रम छ ।

हालसम्म निर्वाचन आयोगले ९३ ट्रक सामान ढुवानी गरिसकेको छ । दोस्रो चरणमा धेरै जनसङ्ख्या र निर्वाचन क्षेत्र भएका तराईका जिल्लामा सामग्री ढुवानी गरिनेछ ।

अब सात जिल्लाको मतपत्र छपाइ बाँकी
निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत सात जिल्लाको मात्र मतपत्र छपाइ हुन बाँकी छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको सबै मतपत्र छपाइ सम्पन्न भएर ७५ जिल्लामा ढुवानीसमेत भइसकेको छ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत अब काठमाडौ, ललितपुर, भक्तपुर, बारा, धनुषा, सर्लाही र रौतहट जिल्लाको मतपत्र मात्र छपाइ हुन बाँकी छ ।

यी जिल्लामा करिब ८४ लाख मतपत्र आवश्यक पर्नेछ । आयोगले हालसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि करिब चार करोड तथा पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि तीन करोड १४ लाख ५६ हजार पाँच सय मतपत्र छपाइ गरिसकेको छ ।

हालसम्म गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, प्युठान, रोल्पा, दाङ, सल्यान, रूकुम पश्चिम तथा रूकुम पूर्वका मतपत्र ढुवानीसमेत भइसकेको छ ।