• १३ वैशाख २०८१, बिहिबार

हुम्लामा ४६ मतदानस्थल अति संवेदनशील

blog

सिमकोट गाउँपालिकाको अति संवेदनशील मतदान स्थल । तस्बिर: राजन रावत

हुम्ला, कात्तिक १५ गते । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि कुलमध्ये ४६ वटा मतदान स्थललाई अति संवेदनशील र संवेदनशील ठहर्‍याएको छ । जिल्ला सुरक्षा समितिको बैठकद्वारा सात वटै गाउँपालिकाका ती मतदानस्थललाई अति सवेदनशील र संवेदनशील ठहर गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी सीता परियारले प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला हम्लाका ४६ वटा मतदान स्थललाई अति संवेदनशील र संवेदनशील ठहर गरिएको बताउनुभयो । उहाँले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको विश्लेषण र जिल्ला सुरक्षा समितिले अन्य वस्तुस्थिति मूल्याङ्कन गर्दा ती मतदान स्थललाई सुरक्षाका हिसाबले अति संवेदनशील र संवेदनशील ठहर गरिएको बताउनुभयो । 

यसरी सुरक्षा समितिले अति संवेदनशील ठहर गरेका गाउँपालिका अनुसारका २४ मतदान स्थलहरुमा नाम्खामा पाँच वटा, सिमकोटमा चार वटा, खार्पुनाथमा दुई वटा, सर्केगार्डमा चार वटा, चङ्खेलीमा चार वटा, अदानचुलीमा एक वटा र ताँजाकोटमा चार वटा रहेका छन् । जिल्ला सुरक्षा समितिले अतिसम्बेदनशील ठहर गरेका ती मतदान स्थलहरुमा विशेष सुरक्षाको व्यवस्था गरिनेछ । त्यसैसरि मतदान कार्यका लागि सुरक्षाकर्मीहरू पनि त्यही अनुसार खटन पटन हुनेछन् । त्यसैसरि समितिले २२ वटा मतादन स्थललाई संवेदनशील क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ ।

संवेदनशील मतदान स्थलहरुमा गाउँपालिका अनुसार नाम्खामा तीन वटा, सिमकोटमा दुई वटा, खार्पुनाथमा दुई वटा, सर्केगार्डमा चार वटा, चङ्खेलीमा चार वटा, अदानचुलीमा पाँच वटा र ताँजाकोटमा दुई वटा  छन् । यता कुल मध्य १२ वटा मतदान स्थललाई सामान्य रूपमा वर्गीकरण गरिएको छ । यस पटकको निर्वाचनमा ५८ वटा मतदान स्थल निर्वाचन आयोगद्वारा जिल्लाको सिफारिसका आधारमा निर्धारण गरिएको छ ।  स्थानीय निर्वाचनमा ५२ वटा मतदान स्थल थिए । यता मतदान केन्द्रहरू भने  ५९ वटा निर्धारण गरिएको छ । 

कारागारलाई अस्थायी मतदान स्थल

यसैबिच जिल्ला कारागारमा अस्थायी मतदान स्थल निर्धारण गरिएको छ । जसमा कैदी बन्दी, थुनुवा र जिल्लास्थित अस्थायी मतदाताहरूले आफ्नो मत खसाल्न पाउनेछन् । निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी बाहेक जिल्लामै बस्ने कर्मचारी र सुरक्षाकर्मीले सो अस्थायी मतदान स्थलमा रहेको मतदान केन्द्रमा मत खसाल्ने व्यवस्था गरिनेछ । 

Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।