• १२ वैशाख २०८१, बुधबार

कोदो खेतीतर्फ आकर्षित बन्दै किसान

blog

सिदिङ्वा गाउँपालिका–४ साब्लाखु मलाते टोलमा गरिएको कोदो खेती । तस्बिर: चन्द्र पन्दाक

ताप्लेजुङ, कात्तिक १५ गते । ताप्लेजुङका किसान कोदो खेतीतर्फ आकर्षित हुँदै गएका छन् । कोदोबाट फाइदा नहुने भन्दै खेती गर्न छोडिँदै गएकोमा पछिल्लो समय यसको खेतीतर्फ किसान आकर्षित हुँदै गएका हुन् । 

लगानी गरेअनुसार उत्पादन नहुने भन्दै किसानले कोदो खेती लगाउन छोड्दै लगेको बताइएको छ । कोदोलाई खाद्यान्न बालीकै रूपमा उपभोग गर्न सकिने र धेरै उत्पादन गर्न सके आम्दानी पनि राम्रै लिन सकिने बुझेपछि किसानहरू बिस्तारै कोदो खेतीतर्फ आकर्षित हुँदै गएका हुन् । 

पछिल्लो समय जिल्लाको अधिकांश क्षेत्रका किसानले कोदो खेती सुरु गरेका छन् । कोदोको विकल्पमा अन्य खेती अँगाल्दै आएका किसान समेतले पुनः कोदो खेती सुरु गरेका हुन् । पर्याप्त मलजलसहित मौसम अनुकूल भएमा कोदो उत्पादन पनि राम्रै हुने किसान बताउँछन् । 

यता कोदो उपभोग गर्दा स्वास्थ्यलाई पुग्ने फाइदाबारे बिस्तारै जानकारी हुन थालेकाले पनि खेती सुरु गरेको किसानको भनाइ छ । औषधीय गुणयुक्त खाद्यान्न बालीका रूपमा कोदोलाई उपभोग गर्न सकिने बुझेपछि जिल्लाका किसानले खेतीलाई निरन्तरता दिन थालेको पाइएको छ । 

जिल्लाको पूर्वी सिदिङ्वा गाउँपालिका–४ साब्लाखुका किसान अमरबहादुर लिम्बूले पहिले–पहिले गर्ने गरेको कोदो खेती पुनः सुरु गरेको बताउनुभयो । अन्य खेतीभन्दा बढी जनशक्ति लाग्ने र जनशक्तिसहित लगानीको तुलनामा केही कम फाइदा हुने भए पनि पछिल्लो केही वर्षयता गाउँका किसानले कोदो खेती क्रमशः सुरु गरेका लिम्बूले जानकारी दिनुभयो । 

सिदिङ्वा गाउँपालिका–४ कै अर्का किसान सोममाया लिम्बूले छोडिसकेको कोदो खेती पुनः सुरु गरेको बताउनुभयो । लिम्बूका अनुसार कोदो खेतीका लागि धेरै जनशक्ति चाहिने र आवश्यकता अनुसार जनशक्ति पाउन छोडेपछि किसानले खेती पनि छोड्दै गएका हुन् । पछिल्लो समय भनेजस्तो जनशक्ति नपाइए पनि परम्परागत कोदो खेतीलाई किसानले सुरु गरेका उहाँको भनाइ छ । 

किसानका अनुसार धानलाई जस्तो कोदो खेतीका लागि समतल जमिन साथै सिँचाइ आवश्यक पर्दैन । सुख्खा जमिन वा बारीमै कोदो राम्ररी फस्टाउने र खेती गर्नलाई पनि खासै कठिनाइ नहुने हुँदा खेतीतर्फ क्रमशः किसान आकर्षित हुँदै गएका हुन् । कोदो उत्पादनपछि आफैँले उपभोग गर्न र बिक्री गरेर आम्दानी पनि राम्रै गर्न सकिने किसान बताउँछन् । किसानका अनुसार गाउँघरमा कोदो प्रतिपाथी (करिब चार किलोग्राम) २०० देखि २५० रुपियाँसम्म मूल्यमा खरिद÷बिक्री हुने गरेको छ । 

हाल जिल्लाको नौ स्थानीय तहका ६१ वडामध्ये केहीबाहेक अधिकांश वडामा किसानले कोदो खेती गर्न सुरु गरेका छन् । पछिल्लो केही वर्षयता किसानले कोदो खेती सुरु गरेका र क्रमशः खेती बिस्तार हुँदै गएको कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय ताप्लेजुङले जनाएको छ । कार्यालयका अनुसार जिल्लाको करिब तीन हजार हेक्टर क्षेत्रफलमा कोदो खेती हुने गरेको छ । 

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।