• ८ वैशाख २०८१, शनिबार

धान काट्न मजदुर अभाव

blog

सर्लाही समाचारदाता 

सर्लाही, कात्तिक १५ गते । सर्लाहीमा धान काट्ने मजदुरको अभाव भएको छ । यस जिल्लाको उत्तरी भेगमा धमाधम धान भित्र्याउने बेला धान काट्ने मजदुर पाउनै गाह्रो भइरहेको ईश्वरपुर नगरपालिका–१२, घारीबथानका किसान कैलाश बानियाँले बताउनुभयो । 

अहिले खेतीमा अर्मपर्म अर्थात् आलोपालो प्रचलन हराउँदै गएको छ । बाली भित्र्याउन मजदुरकै भर पर्नुपर्ने र सबैजसो किसानको एकै पटक बाली भिœयाउनुपर्ने भएकाले मजदुर पाउन मुस्किल भएको हो । मजदुरले एक बिहान धान काटेको चार सय रुपियाँसम्म लिने गरेका किसानले बताएका छन् । 

भारतीय सीमा क्षेत्रमा पर्ने सर्लाहीको दक्षिणी भेगमा पनि धान काट्ने मजदुरको अभाव भएको किसानले बताएका छन् । युवा वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै यस जिल्लामा हरेक पटक खेती लगाउने र भित्र्याउने बेला मजदुरको अभाव बढ्दै गएको हो । खेतबारीमा काम गर्ने मजदुर नपाउने समस्याले खेती गर्नै मुस्किल परेको भारतीय सीमा क्षेत्रस्थित विष्णु गाउँपालिका–३, का किसान बिन्तिप्रसाद चौधरीले बताउनुभयो । अन्य जिल्लामा धान काट्ने मेसिन प्रयोग हुन थाले पनि सर्लाहीमा भने त्यस किसिमको मेसिन भत्रिएको छैन । 

कृषि ज्ञान केन्द्र मलङ्गवाका प्रमुख कमलदेवप्रसाद कुशवाहाले कामदार अभावले जिल्लामा पछिल्लो समय हरेक खेती प्रभावित भइरहेको बताउनुभयो । धान झार्ने मेसिन (थ्रेसर) सबैतिर पुगे पनि धान काट्ने प्रविधि भने किसानसँग पुगेको छैन ।  कृषि ज्ञान केन्द्रका प्रमुख कुशवाहाले किसानलाई यान्त्रिकीकरणमा आकर्षित गर्न कार्यालयको तर्फबाट सहयोग गरिरहेको बताउनुभयो । अब ज्ञान केन्द्रले भन्दा पनि स्थानीय तह आफैँले किसानलाई सहज र बढी आम्दानी हुने किसिमले खेती गर्न सहयोग गर्नुपर्ने कुशवाहाको भनाइ छ ।