• १६ चैत २०८०, शुक्रबार

सेवा दिने कार्यालयमा सेवाग्राहीलाई सास्ती

blog

तनहुँ समाचारदाता 

तनहुँ, कात्तिक १५ गते । जिल्ला प्रशासन कार्यालय तनहुँमा सेवाग्राहीले घण्टौँ पालो कुर्नुपर्ने बाध्यता रहेको छ। प्रशासन कार्यालयमा कर्मचारी थोरै हुँदा काम ढिलो हुने गरेकाले सेवाग्राहीको भीड लाग्ने गरेको छ। 

हाल राहदानी, नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीको भीड लाग्ने गरेको छ। सेवा पु¥याउने सक्ने क्षमताभन्दा दोब्बर सेवाग्राही आउने गरेकाले कर्मचारीलाई काम गर्न कठिन भएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले बताउनुभयो। 

दशैँ, तिहार मनाउन घर आएका बेला सेवा लिनेहरू धेरै भएकाले भीड बढेको भनाइ उहाँको छ। एक जना प्रशासकीय अधिकृत र एक जना सहायक प्रमुख जिल्ला अधिकारी थप गर्ने र इलाका प्रशासन कार्यालयको व्यवस्थापन गर्न सकियो भने समस्या समाधान हुने सहायक प्रजिअ गैरे बताउनुहुन्छ। 

तनहुँको पूर्व र पश्चिममा गरी दुई स्थानमा इलाका प्रशासन कार्यालय थप गर्न गृह मन्त्रालयलाई पत्रचार भएकामा चालू आर्थिक वर्षभित्र नै एक इलाका प्रशासन कार्यालय थप गर्ने कार्य अघि बढिसकेको जानकारी उहाँले दिनुभयो। “पश्चिम क्षेत्रमा चालू आर्थिक वर्षदेखि नै सेवा दिने गरी इलाका प्रशासन कार्यालय सञ्चालनमा ल्याउने तयारी गृह मन्त्रालयले गरेको छ,” सहायक प्रजिअ गैरेले भन्नुभयो। 

छिटो र छरितो रूपमा काम नहुँदा कार्यालयमा सधैँ भीड हुने गरे पनि समाधान गर्न ध्यान पुगेको छैन। दरबन्दीअनुसारको कर्मचारी नहुँदा सहज रूपमा सेवा प्रवाह गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रशासन कार्यालयमा नागरिकता लिने, राहदानी बनाउने, सङ्घसंस्था दर्ता, नवीकरण, पेन्सनसम्बन्धी, दलित, जनजाति प्रमाणित, नागरिकताको प्रतिलिपिलगायत कामका लागि दैनिक तीन सयभन्दा धेरै सेवाग्राही आउने गरेका छन्।