• १६ चैत २०८०, शुक्रबार

पूर्वमा पूर्वाधार बढाउने तयारीमा विद्युत् प्राधिकरण

blog

काठमाडौँ, कात्तिक १५ गते । नेपाल विद्युत् प्राधिकरणले विद्युत् निर्यातका लागि भारतको सिलिगुढी, पूर्णिया र किसनगञ्ज बिन्दु उपयोगमा ल्याउने तयारी गरेको छ । 

यसका लागि हाल रहेको ४०० केभीको इनरुवा सबस्टेसनबाट हुलाकी राजमार्गको आसपास हुँदै ४०० केभी प्रसारण लाइन निर्माण गरी झापाको अनारमनी क्षेत्रमा ४०० केभी सबस्टेसन बनाएर प्रसारण सञ्जाल विस्तार गर्नु उपयुक्त हुने देखिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

देशभित्र खपत गरी बढी भएको विद्युत् भारत र बङ्गलादेश निर्यात गर्न सहज बनाउने गरी प्राधिकरणले पछिल्लो समय पूर्वी नेपालमा पनि थप प्रसारण पूर्वाधार विस्तार गर्न लागेको हो । 

भारत निर्यातसहित प्रदेश १ अन्तर्गतका सुनसरी, मोरङ र झापा जिल्लालाई लक्षित गरी प्राधिकरणले उच्च क्षमताका विद्युत् प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना बनाउन लागेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । 

शनिबार र आइतबार कार्यकारी निर्देशक घिसिङसहित वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ सम्मिलित टोलीले सुनसरी, मोरङ र झापामा आवश्यक पर्ने पूर्वाधारका विषयमा स्थलगत अवलोकन गरी जानकारी लिएको छ । 

टोलीले भारतको पश्चिम बङ्गालसँग अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माणको सम्भावना, बङ्गलादेशतर्फ विद्युत् निर्यातका सबैभन्दा छोटो रुट, प्रसारण लाइन तथा सबस्टेसन निर्माणका लागि उपयुक्त स्थानलगायतको पहिचान गर्न स्थलगत अध्ययन गरेको जनाइएको छ । टोलीले सुनसरी, मोरङ र झापामा निर्माणाधीन र हाल सञ्चालनमा रहेका विद्युत् प्रसारण तथा वितरणतर्फका पूर्वाधार संरचनाको पनि स्थलगत अध्ययन गरेको थियो ।  

“स्थानीय क्षेत्रमा विद्युत् आपूर्ति भरपर्दो र विश्वसनीय भई खपत बढ्नेछ भने भारत र बङ्गलादेशमा विद्युत् निर्यातका लागि थप प्रसारण सञ्जाल तयार हुनेछ । यसको तयारीमा प्राधिकरण जुटेको छ,” उहाँले भन्नुभयो ।

घिसिङ नेतृत्वको टोलीले पावर ग्रिड भारतको पश्चिम बङ्गालको सिलिगुढी स्थिति ४००/२२० केभी बिनागुढी सबस्टेसनको भ्रमण गरी विद्युत् आयात निर्यातको जानकारी लिएको थियो । सबस्टेसनमा भुटानको ताला जलविद्युत्् आयोजनाबाट उत्पादित विद्युत् जोडिएको छ ।