• ४ वैशाख २०८१, मङ्गलबार

भाग्य कोर्ने अवसर

blog

कात्तिक महिनाले नेपाली मौलिक संस्कृतिको पहिचान दिन्छ। ठूला चाडपर्व यही महिनामा पर्ने भएकाले पनि कात्तिकको विशेष महत्व छ। त्यसो त हरेक महिना, दिन, गते, बार वा पलको उत्तिकै महत्व हुन्छ। यो जगत्, मानव जीवन वा सम्पूर्ण जीव र वनस्पतिको उत्तिकै महत्व छ। जगत्, जीव, वनस्पति वा प्रकृतिको चर्चाको सन्दर्भ होइन यो, यससम्बन्धमा अलिक धेरै चर्चा गर्न सक्ने विश्लेषक थिए– प्रदीप गिरी। डेढ/दुई महिनापहिले मात्र उनले यो धरा सदाका लागि छोडेर गइसके। राजनीतिक क्षेत्रबाहिरका धेरै अध्येता र दार्शनिक नेपाली समाजमा छायामै छन्, ऐन–मौकामा तिनले पनि मुख खोल्लान् । नेपाली समाज र संस्कृति बुझेका सत्यमोहन जोशी पनि थिए तर उनको शोकमै छौँ अहिले हामी। मुलुकको पहिचान हाम्रा मौलिक संस्कृतिले जोगाइरहेका छन्। सर्वप्रथम हामी सबै यसतर्फ सचेत हुन जरुरी छ। 

यो आलेख भने नेपाली समाज, राजनीतिक चरित्र र आगामी मङ्सिर ४ गते हुने संसदीय निर्वाचनप्रति केन्द्रित छ। देश र जनताको भाग्य र भविष्य निर्माण गर्ने तथा राज्य सञ्चालनको मूलनीति हो– राजनीति। प्रजातान्त्रिक अभ्यासको अपरिहार्य सर्त हो– आवधिक निर्वाचन। बालिग मताधिकारका आधारमा हरेक पाँच वर्षमा हुने निर्वाचन र यसले दिने परिणाम नै राज्य सञ्चालनको मुख्य आधार हुन्छ। यसका मेरुदण्ड हुन्– जननिर्वाचित प्रतिनिधि अर्थात् राजनीतिक पार्टी र तिनका नेता।

सेवा गर्नु आफ्नो कर्तव्य ठान्छौँ हामी। कतिपय अवस्थामा सडकमा माग्न बसेको एउटा भिखारीले दुई पैसा मागे त्यसलाई अल्छी, मगन्ते वा कामचोर र ठग भन्दै बेवास्ता गर्छौं। मगन्तेहरूले गरेको हृदयविदारक विलौना हामी सुन्ने प्रयास गर्दैनौँ। कतै त्यस्ता 

दीन–दुःखीलाई हाम्रो सानो सहयोग ठूलो त्राण पो हुनसक्छ कि ? हुन त कतिपय अवस्थामा आफूलाई फाइदा नहुने हुँदा पनि दुई पैसा त हो भनेर मगन्तेका अगाडि फालिदिन सक्छौँ। मानव सेवा, दया, धर्म आदिका सम्बन्धमा पनि अलग्गै चर्चा गर्नुपर्छ। चर्चा गरौँ, आगामी निर्वाचन, नेता, नेतृत्व र तिनका सम्बन्धमा आममानिसको दृष्टिकोण कस्तो छ त ?

निर्वाचनमा हामीले गर्ने मतदानको कति महत्व छ ? मतदान गर्नुपहिले हामीले त्यसले समग्र समाज, देश वा आमजनतामा पर्ने असर र त्यसको परिणामका बारेमा सोच्छौँ कि सोच्दैनौँ ? निर्वाचनमा मतदान गर्नुअघि हामीले गम्भीर भएर सोच्नैपर्छ, यो अरूका फाइदाका लागि गर्ने सामान्य दान होइन। यो दान गर्नुपहिले नसोचे त्यसले गर्ने हानि हामी मतदातालाई नै हो, अरूलाई होइन भनेर हामीले बुझ्न आवश्यक छ। मतदान आफ्नै लागि, आफ्नै समुदाय र देशकै लागि राम्रो गर्न सक्ने प्रतिनिधि निर्वाचित गर्ने महादान हो। यसमा असल–खराब छुट्याउन पर्छ, नसके आफैँलाई हानि गर्छ। यो मन नलागे पनि कुनै मगन्तेलाई फालिदिएको दुई पैसाजस्तो होइन।

माथि पनि उल्लेख छ– राजनीति देशको समग्र नीतिको मूलनीति हो। राजनीतिक पार्टी र तिनका नेता वा हामीले मतदान गरेर चुनिएका जनप्रतिनिधि त्यस नीतिका मेरुदण्ड हुन्। जसरी कुनै पनि स्वस्थ मानिसका लागि मेरुदण्ड मजबुत हुनुपर्छ, त्यसरी नै देशको समग्र अवस्था मजबुत हुन राजनीति र त्यसका सञ्चालक नेता मजबुत हुनैपर्छ। पार्टी र नेताका गतिविधि पनि पारदर्शी, प्रजातान्त्रिक तथा विश्वसनीय हुनुपर्छ। पार्टी र नेताका कतिपय व्यवहार हाम्रा आदर्श अपेक्षाअनुसार छैनन्। जब पार्टीहरू प्रजातान्त्रिक छैनन्, नेताहरू विश्वसनीय छैनन् अनि समाजको पनि उनीहरूप्रति विश्वास छैन भने तिनबाट राम्रो काम र परिणामको अपेक्षा कसरी गर्न सकिन्छ ? यस्तो अवस्था किन र कसरी सिर्जना भयो ?

अहिले हरेक व्यक्तिको नियन्त्रणमा रहेर तिनका निजी तजबिज, स्वार्थ, आग्रह वा अहम् सार्वजनिक हुने गरेका तर सामाजिक भनिएका अधिकांश ‘सोसल नेटवर्क’हरूमा मुख्य यी केही कुरा देखिन्छन्– अतिरञ्जित स्वप्रदर्शन, अर्ति उपदेश, राजनीतिक पार्टी र तिनका नेता वा जनप्रतिनिधिप्रति लक्षित अप्रमाणित असभ्य गाली वा घृणा–द्वेष प्रकट। जब हामीले समग्र समाज र राष्ट्र निर्माणको नीति निर्माण तथा कार्यान्वयनका लागि पार्टी र जनप्रतिनिधिलाई जिम्मा दिएका छौँ भने तिनहरूप्रति हाम्रो सम्मान र विश्वास हुन सक्नुपर्छ। 

पार्टीहरू, तिनका नेता वा जनप्रतिनिधिको व्यवहार र गतिविधि सन्तोषजनक छैन भने ऐन मौकामा तिनलाई सचेत गर्न र कारबाही गर्न सक्नुपर्छ। त्यसरी सचेत गर्ने र कारबाही गर्ने उपयुक्त मौकामा हामी आँखा चिम्लिन्छौँ वा अनेक स्वार्थ अनुकूल तिनको छनोट गरिरहेका छौँ। एकातिर जसलाई हिजो वा आज पनि आफ्नो अमूल्य मतदान गरेर देश र जनताका लागि नीति निर्माण गर्ने जिम्मेवारी सुम्पिरहेछौँ, अर्कातिर सदावहार असल–खराब सबैलाई एउटै डालोमा राखेर सबै पार्टी, तिनका नेता वा जनप्रतिनिधि संसारकै सबैभन्दा बढी खराब मानिस हुन् भनेझैँ गरेर तिनैको बदनाम गरिरहेका छौँ। अनुमान गरौँ, हामी बिरामी परेर उपचार गर्न डाक्टर वा अन्य कुनै कसैसँग सहायता माग्छौँ तर तिनलाई विश्वास गर्दैनौँ र जथाभावी गाली गरेर मानमर्दन गर्छौं भने तिनबाट हामीले कस्तो उपचार वा सहयोग पाउन सक्छौँ ? हामीले ख्याल गरेका छैनौँ, अहिले भइरहेको यस्तै हो।

किन यस्तो भइरहेछ ? के यो स्वाभाविक हो ? होइन। यस्तो हुनुका कारण धेरै छन् र ती कारणमा पार्टी र तिनका अपारदर्शी गतिविधि, नेता स्वयं पनि उत्तिकै जिम्मेवार छन्। हाम्रो समग्र समाजको प्रतिनिधित्व र नेतृत्व तिनै सीमित पार्टी र तिनका नेताले मात्र गर्ने हुन् त ? होइन। होइन भने समग्र हाम्रो समाज व्यवस्थासँग सम्बन्धित सङ्घसंस्था र आमनागरिकको के कुनै दायित्व वा भूमिका छैन समाज निर्माणमा नेतालाई सच्याउन ? छ। छ भने के हो ? पार्टीहरू र तिनका नेतालाई को कति असल–खराब हो भनेर चिन्ने र कारबाही गर्न सकिने उपयुक्त ऐन मौका हो– निर्वाचन।

पार्टी र तिनका नेतालाई असल वा खराब चिन्ने र कारबाही गर्ने मात्र होइन, तिनलाई सम्मान र प्रोत्साहन गर्नुपर्ने समय हो निर्वाचन। नेतामा घृणा र अविश्वास प्रकट हुने क्रम बढेको छ। उदाहरण अनेक तपाईं हामी सबैलाई थाहा छ, पढिरहनु र देखिरहनुभएको छ। जसले हाम्रा भाग्य कोरिदिऊन् र सेवा गरून् भन्छौँ तिनैलाई अविश्वास र अपमान जानेर वा नजानेर हामीले पनि गरिरहेका छौँ। यति धेरै अविश्वास, अपमान र घृणा गरिएकाबाटै चुनिएका तिनै प्रतिनिधिबाट हामीले त्यति ठूलो अपेक्षा गर्न कसरी सुहाउँछ र ?

लाग्छ, पार्टीका नेतालाई यति धेरै घृणा अरूतिर छैन। यस्तो वातावरणमा नेताहरूको मनोबल र व्यवहार कसरी सन्तुलित÷सन्तोषजनक वा सकारात्मक हुन सक्छ ? नेतालाई यति धेरै घृणा गर्ने अवस्था आउनु राम्रो होइन। यसमा सोच्न र नेताप्रति सकारात्मक दृष्टिकोण बनाउन पनि आवश्यक छ। हामीले कसैलाई चोर, डाँका वा सबै खराबीको दोषी तँ नै होस् भन्छौँ अनि तिनलाई नै नीति निर्माणको जिम्मा पनि लगाउँछौँ भने तिनबाट तपाईं हाम्रै लागि कसरी राम्रो आशा गर्न सकिन्छ ? नेता सर्वज्ञ हुन् वा तिनको टिप्पणी गर्नै नहुने होइन। स्वस्थ आलोचना र सल्लाहले नेतामा पनि सकारात्मक भावना र कमीकमजोरी सच्याउन प्रेरणा मिल्छ। त्यसैले यसबारे सोच्नु र सच्याउन पर्छ, पार्टीका नेताप्रति किन यति धेरै घृणा र अविश्वास प्रकट भइरहेको छ ? 

मूलतः सामाजिक सञ्जाल र अन्य सार्वजनिक कार्यक्रममा नेतामाथि गरिने टिप्पणीले के सङ्केत गर्छ ? किन यस्तो हुन्छ ? यसको प्रभाव र परिणामका बारेमा र यो समस्या न्यून गर्ने विषयमा पनि बहस गर्नुपर्छ। नेता र पार्टीप्रति यति धेरै घृणाको वातावरण र अपमान सार्वजनिक रूपमा अभिव्यक्त हुनु हुँदैन। सामान्य मानिसले भन्दा पनि सचेत शिक्षित समुदाय र पार्टीका नेताले नै एकअर्को पार्टी र नेताकै बदनाम गरिरहेछन्। नेताहरू स्वयंले एकअर्काप्रति गर्ने घृणा र अविश्वास, पुष्टि हुन नसक्ने आरोप–प्रत्यारोपले पनि सर्वसाधारणमा नेतामाथि अविश्वास र घृणा बढाइरहेछ। नेताहरू स्वयं एकअर्काप्रति सम्मानजनक वचन र व्यवहार गरिरहेका छैनन्। नाटकीय शैलीमा आकाश–पाताल जोडेर असम्भव आश्वासन बाँड्नु, विपक्षी पार्टी र नेतालाई गाली गर्नु तथा निर्वाचित भएपछि मतदातासँग गरेका वाचा पूरा गर्नु त कता हो कता, अर्को निर्वाचन नआएसम्म मुख नदेखाउनेजस्ता कमजोरी नेताले सच्याउनुपर्छ। नेताले ती कमजोरी सच्याएनन् भने जनताले आफ्नो अमूल्य मतदानमार्फत सच्याउनुपर्छ।

निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा जनताले स्वतन्त्रतापूर्वक आफ्नो गोप्य मतमार्फत जनप्रतिनिधि छान्ने अवसर हो। नेताबाट नै यसलाई जीवन–मरणको सवाल भनेर प्रचार गर्ने, महासङ्ग्राम हो भनेर कार्यकर्तालाई उत्तेजित गर्ने वा यो सामान्य निर्वाचन मात्र होइन जित्नैपर्ने लडाइँ हो भनेर जनमानसमा त्रास फैलाउनेजस्ता वक्तव्य सार्वजनिक हुनु गलत हो। यो गल्ती नेताबाट पनि भइरहेको छ। जनमत प्रकट गर्ने उत्सवलाई भयभित बनाउने प्रयास नेताबाट पनि हुनुहुँदैन। नेताहरू त्यति मात्र बोल जति बोल्दा जनताको माया, सम्मान र विश्वास प्राप्त हुन्छ। एकअर्कोमा हिलो छ्यापेर आफ्नै कुरूप अनुहार जनतालाई नदेखाऊ। त्यति मात्र बोल जति बोलेको पूरा गर्न पनि सकिन्छ। कामना गरौँ, हाम्रा नेताले जनताको भावना, आवश्यकता र प्राथमिकता बुझून् र त्यस्तै बोलून्। एकअर्कोलाई गालीगलौज गरेर मात्र समय खेर नफालून्।