• १५ चैत २०८०, बिहिबार

ढुङगा खानी ओझेलमा पर्दा स्थानीय थामी समुदाय चिन्तित

blog

ढुङ्गा खानीबाट स्लेट तयार पार्दै स्थानीय मजदुर । तस्बिर : बाबुराम शर्मा

बाबुराम शर्मा 

दोलखा, कात्तिक १४ गते । पुर्खौदेखि जीवन जिउन सञ्चालनमा आएको दोलखाको बिगु गाउँपालिका –६ आलम्पुस्थितको ढुङ्गा (स्लेट) खानी राजनीतिक दलले खासै चासो नदिँदा ओझेलमा पर्दै आउन थालेपछि थामी समुदाय चिन्तित बनेका छन् । चुनाबताका घर–घरमा आएर खानीलाई व्यवस्थित गरी रोजगारी दिलाउने आश्वासन बाँड्ने तर जितेपछि वास्ता नगरिदिनाले खानी ओझेलमा पर्न थालेपछि चिन्तित हुनुपरेको थामी समुदायको गुनासो रहेको छ । 

खानीमा १५ वर्षको उमेरदेखि अनवरत काम गर्दै आउनुभएका ६५ वर्षीय कालुमा थामीले दःुखेसो पोख्दै भन्नुभयो, “हाम्रो रोजगारी व्यवस्थित गरिदिने सँधै चुनाबी नारा बन्छ, जितेपछि नेताको मुखसम्म पनि देख्न पाइँदैन ।” कहालीलाग्दो भीरबाट स्लेट निकालेर बेचेर जीवन निर्वाह गर्ने थामी समुदायका प्रतिनिधिले मुलुकमा व्यवस्था परिवर्तन भए पनि जीवनमा परिवर्तन नआएको गुनासो गर्नुभयो । नेताकै बेवास्ताका कारण हामी ठगिएका हौँ । 

शिक्षा, स्वास्थ्य अभावबाट गरिबीले थिचिएका थामी समुदायमा हातमुख जोड्न धौधौ रहेको उहाँहरुको गुनासो छ । उहाँले भन्नुभयो, “प्रत्येक चुनाबमा खानीसम्म सडक लग्ने, शिक्षा, स्वास्थ्यको राम्रो व्यवस्था गरिदिने भन्दै भोट माग्ने गरे पनि समस्या समाधान भएन । जितेपछि गाउँमा मुखसम्म देखिँदैन ।” 

स्थानीय चुनाबमा पनि रोजगारी दिने आश्वासन पाइएको उहाँहरुको भनाइ छ ।  स्थानीय मकर थामीले भन्नुभयो, “अहिलेसम्म माखो मारेका छैनन्, फेरि चुनाब आउन थालेको छ । अब फेरि आश्वासनभन्दा अरु के पाइएला र ?” मुलुकमा आएको लोकतन्त्र गणतन्त्रले नेताको मात्र जीवन परिवर्तन भएको उहाँले बताउनुभयो ।  

गत भूकम्पका दुई वर्ष खानी पूर्ण बन्द हुँदा कष्टकर जीवन भोग्नुपरेको उहाँहरुको भनाइ छ । यो खानी गौरीशङकर संरक्षण क्षेत्रभित्र परेकाले खानी बन्द गरिदिने हल्ला आएपछि धेरै युवा विदेसिएको स्थानीयको बुझाइ छ । अहिले बुढापाकाको दिनचर्या बनेको खानी बन्द भए यो समुदाय नै लोप हुने खतरा देखिएको थामीले भन्नुभयो ।  

बुद्धिमाया थामीका अनुसार अब के गरेर जीवन चलाउने भन्ने चिन्ताले सताउन थोलेको छ । नेताले व्यवस्था गरिदिए त रोजगारी मिल्थ्यो होला भन्दै थामीले थप्नुभयो, “आश्वासनले मात्र नहुने रहेछ, नेताले बुझ्ने दिन कहिले आउला ?” 

खानी तथा भूगर्भ विभागले गरेको एक अध्ययनले यो खानीबाट उपलब्ध हुनसक्ने स्लेटको कुल क्षेत्रफल दुई करोड ६९ लाख आठ हजार ७७५ वर्ग फिट छ । अमेरिकी टोलीले गरेको अध्ययन प्रतिवेदन अनुसार खानीको आयु १३३ वर्ष  लामो रहेको छ ।