• १६ चैत २०८०, शुक्रबार

पीएम कप क्रिकेट

नेपाल पुलिस र गण्डकी प्रदेश विजयी

blog

मुलपानी मैदानमा प्रतिस्पर्धा गर्दै पुलिस र प्रदेश–१ का खेलाडी । तस्बिर सौजन्य : क्यान

काठमाडौं, कात्तिक १४ गते । प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा सोमबार विभागीय टोली नेपाल पुलिस क्लब र गण्डकी प्रदेशले जित निकालेका छन् । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा पुलिसले प्रदेश–१ लाई सात विकेटले हरायो ।

पुलिसको यो लगातार दोस्रो जित हो । पुलिसले पहिलो खेलमा बागमती प्रदेशलाई हराएको थियो । त्रिवि मैदान कीर्तिपुरमा भएको अर्को खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ६९ रनले स्तब्ध बनायो ।

प्रदेश–१ ले दिएको एक सय तीन रनको विजयी लक्ष्य पछ्याएको पुलिसले १४ ओभरमा तीन विकेटको क्षतिमा एक सय पाँच रन जोड्दै लक्ष्य पूरा गरेको हो । पुलिस क्लबको जितमा कुशल भुर्तेलले सर्वाधिक ४२ रन बनाउनुभयो ।

शङ्कर रानाले २९, राशिद खानले अविजित १६ र दीपेन्द्रसिंह ऐरीले अविजित १४ रन जोड्नुभयो । बलिङमा प्रदेश–१ का फिर्दोस अन्सारी र सिद्धान्त लोहनीले एक एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको प्रदेश–१ ले ३५.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय दुई रन बनाएको थियो ।

प्रदेश–१ का लागि ओपनर निरज मुखियाले सर्वाधिक २९ रन बनाउनुभयो । अङ्कित सुवेदीले २४ र विवेक आनन्द मेहेताले १७ रन बनाउनुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सक्नुभएन । बलिङमा पुलिसका ललित राजवंशी एक्लैले पाँच विकेट लिनुभयो । उहाँ ‘म्यान अफ दि म्याच’ हुनुभयो ।

सागर ढकाल र दीपेन्द्र सिंह ऐरीले दुई दुई तथा राशिद खानले एक विकेट लिनुभयो । जितसँगै समूह ‘बी’ को शीर्षस्थानमा रहेको पुलिसले दुई खेलबाट चार अङ्क बनाएको छ । प्रदेश–१ ले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । 

यसैगरी त्रिवि मैदानमा भएको खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई ६९ रनले हरायो । गण्डकीले दिएको दुई सय नौ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम ३२.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३९ रनमा समेटिएको थियो । सुदूरपश्चिमका लागि मिलन बोहराले सर्वाधिक ५१ रन बनाउनुभयो ।

गजेन्द्र बोहराले ३५ र वसन्त कार्कीले १० रन जोड्नुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सक्नुभएन । बलिङमा गण्डकीका लागि विपिन कार्कीले चार विकेट लिनुभयो । सुवास भण्डारी र अभिषेक बस्नेतले दुई दुई तथा अमृत गुरुङ र कमल परियारले एक एक विकेट लिनुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको गण्डकीले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय आठ रन बनाएको थियो । गण्डकीका लागि अर्जुन कमलले सर्वाधिक ६३ रन बनाउनुभयो । समीर कँडेलले २६, विधान श्रेष्ठ र अभिषेक बस्नेतले समान २५/२५, सन्दीप क्षेत्रीले १९, कप्तान विपिन खत्रीले १३ र कमल परियारले अविजित १३ रन बनाउनुभयो । 

बलिङमा सुदूरपश्चिमका नारायण जोशी, कैलाश एयर र शेर मल्लले दुई दुई विकेट लिनुभयो । नरेन साउदले एक विकेट झार्नुभयो । गण्डकीका अर्जुन कमल ‘म्यान अफ दि म्याच’ हुनुभयो । सुरुवाती जितसँगै गण्डकीले दुई अङ्क बनाएको छ । सुदूरपश्चिमले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । 

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको प्रतियोगिता कात्तिक २६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सात प्रदेश  र तीन विभागीय गरी १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको विजेतालाई १० लाख र उपविजेतालाई पाँच लाख रुपियाँ पुरस्कार प्रदान गरिने क्यानले जनाएको छ । यस्तै सेमिफाइनलमा पुग्ने दुई टोलीलाई ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ

सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानलाई २० हजार रुपियाँ प्रदान गरिने छ । इमर्जिङ प्लेयरलाई १० हजार र हरेक खेलको ‘म्यान अफ दि म्याच’ लाई पाँच हजार रुपियाँ प्रदान गरिने पनि क्यानले जनाएको छ ।