• १३ वैशाख २०८१, बिहिबार

नेप्से परिसूचक १६.३९ अङ्कले वृद्धि

blog

काठमाडौं, कात्तिक १४ गते । तिहारपछिको पहिलो कारोबारको दिन नेप्से परिसूचक वृद्धि भएर कारोबार बन्द भएको छ । तिहारअघि १४ अङ्कले बढेर बन्द भएको नेप्से तिहारपछिको पहिलो कारोबारको दिन सोमबार १६ अङ्कले बढेको हो ।

आज नेप्से परिसूचक १६.३९ अङ्कले वृद्धि भएर १८७४.८७ बिन्दुमा पुगेको छ । त्यस्तै,  सेन्सेटिभ इण्डेक्स १.३५ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ०.९१ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५६ प्रतिशतले बढेको छ ।

कारोबारमा आएका २२४ कम्पनीको २५ लाख ७४ हजार ९७५ कित्ता शेयर ६९ करोड ७३ लाख १७ हजार ६११ रुपियाँ बराबरको कारोबार भएको छ । नेप्से बढेपनि कारोबार रकम भने बढ्न सकेन ।

नेप्सेका १३ उपसमूहमध्ये १२ उपसमूहको सूचक बढेको छ भने एक उपसमूहको सूचक घटेको छ । जसमा होटल तथा पर्यटन उपसमूहको सूचक सबैभन्दा धेरै १.६५ प्रतिशतले बढेको छ भने अन्य उपसमूहको १.५९ प्रतिशत,बैङ्किङ १.५२ प्रतिशत र व्यापार उपसमूहको १.१४ प्रतिशतले बढेको छ । तर विकास बैङ्क उपसमूहको परिसूचक भने ०.३९ प्रतिशतले घटेको छ ।

नेप्से परिसूचक बढेसँगै सोमबार सयपत्री हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, नेपाल एसबिआई बैङ्कको मूल्य ८.२४ प्रतिशत बढेको छ भने साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कको ७.०७ प्रतिशत र एनआईसी एसियाको ६.८० प्रतिशत बढेको छ । तर यता अपर हेवाखोला हाइड्रोपावरको शेयर मूल्य ८.१६ प्रतिशत घटेको छ । आज  एनआईसी एसिया बैङ्कको ६ करोड १७ लाख २१ हजार रुपियाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।