• १६ चैत २०८०, शुक्रबार

गठबन्धनलाई विजयी बनाउन डा.आरजु देउवाको निर्देशन

blog

कार्यकर्ताहरुलाई सम्बोधन गर्नुहुदै कांग्रेस नेत्री डा. आरजु राणा देउवा । तस्बिर : नागेन्द्रकुमार कर्ण

नागेन्द्रकुमार कर्ण

महोत्तरी, कात्तिक १४ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवाले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

महोत्तरीको जलेश्वरमा रहेको कांग्रेस पार्टी कार्यालयमा सोमबार बिहान नेता कार्यकर्तालाई सम्बोधन गर्नुहुँदै उहाँले सो निर्देशन दिनुभएको हो । गठबन्धनका उम्मेदवारलाई विजयी गराउनका साथै मतदातालाई जागरुक बनाउन मतदाता शिक्षा दिन उहाँले निर्देशन दिनुभयो ।  

गठबन्धनका कारणले मतदातामा मत हाल्ने विषयमा अन्याेल देखिएको बताउनुहुँदै उहाँले मतपत्रमा मत हाल्ने विषयमा प्रशिक्षण दिन आग्रह गर्नुभयो । प्रत्यक्ष मात्रै नभई समानुपातिक समेतमा मत हाल्नुपर्ने हुँदा देशमा कांग्रेसकै सरकार बनाउन मतदाता शिक्षा जरुरी रहेकाले विशेष पहल गरिदिन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

कार्यकर्ताले पटक पटक महोत्तरीको यो क्षेत्र कांग्रेसले खाली गराउन गरेको गुनासो सुनाउने गरेको बताउनुहुँदै उहाँले पार्टीलाई यस्तो गर्न गराउन बाध्यता रहेको सबैलाई थाहै भएको बताउनुहुँदै यसमा आफूलाई पनि दुःख लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो क्षेत्रको प्रतिनिधिसभा कांग्रेसले खाली गर्नुको बाध्यता सबैलाई थाहै छ, हामीले वर्षौदेखि पसिना बगाएका कार्यकर्ताको पसिनालाई खेर नजानेगरी राष्ट्रियसभा लगायत अन्य निकायमा ठाउँ दिने आश्वासन दिनुभयो ।

जिल्लाको क्षेत्र नं. ३ को प्रतिनिधिसभामा विगतमा पनि कांग्रेसले आफ्नो उम्मेदवारी फिर्ता गराई लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई छाडेको थियो भने यसपालि पनि यो क्षेत्र गठबन्धनका कारणले लोसपाका अध्यक्ष ठाकुरको भागमा परेको उहाँले बताउनुभयो । 

ठूला पार्टीका वाध्यताबारे सबैलाई थाहै भएकोले निराश हुने अवस्था नरहेको बताउनुहुँदै गठबन्धनका उम्मेदवारलाई सघाउन सबैलाई निर्देशन दिनुभयो । लोकतन्त्रपछि प्राप्त उपलब्धिको रक्षा गर्न, संविधानको रक्षा गर्न तथा नागरिक स्वतन्त्रताको संरक्षणका लागि गठबन्धन बनाउनुपरेको उहाँले प्रष्ट पार्नुभयो । हाम्रो धेरै कुरा मिल्दैन, सिद्धान्त मिल्दैन, सोचाइ मिल्दैन अरु धेरै कुरा मिल्दैन तर देशलाई प्रमुख मानेर नै गठबन्धन गर्नुपरेको उहाँको भनाइ छ ।

छठ मनाउन जनकपुर आउनुभएका उहाँ धनुषाको नगराइन हुँदै महोत्तरी आउनुभएको थियो । जलेश्वरमा पार्टी कार्यालय जानुपुर्व खैरा चोकमा रहेको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा तथा २०१५ को प्रथम जननिर्वाचित सरकारको उद्योगमन्त्री स्व.रामनारायण मिश्रको सालिकमा माल्यार्पण गर्नुभएको थियो । 

सो अवसरमा कांग्रेसका जिल्ला अध्यक्ष नागेश्वर यादवसहितका नेता कार्यकर्ताले स्वागत गर्नुभएको थियो । कार्यकर्तासँग भेटघाटपछि उहाँ गठबन्धनका उम्मेदवार तथा नेताहरुसँग समेत निर्वाचनबारे कुराकानी गर्नुभयो ।