• १६ चैत २०८०, शुक्रबार

इलाममा खनाल र बस्नेतबीच कडा प्रतिस्पर्धा

blog

प्रेम अधिकारी 

पशुपतिनगर (इलाम), कात्तिक १४ गते । उम्मेदवार मत माग्न मतदाताका घरघरमा पुगिरहेका छन्। इलामको क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार झलनाथ खनाल यतिबेला आफ्नो निर्वाचन क्षेत्रका मतदाताका घरघरमा हुनुहुन्छ। पूर्वप्रधानमन्त्री तथा नेकपा एसका सम्मानित नेता खनाललाई इलाम क्षेत्र नं. १ मा गठबन्धनमा रहेका दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले समर्थन गरेका छन्। 

उहाँले आफूसँग कुनै प्रतिस्पर्धी नभएको दाबी गर्नुभएको छ। उहाँले भन्नुभयो, “आफैँले राजनीतिमा डो-याएकासँग खासै प्रतिस्पर्धा हुँदैन।” उहाँसँग नेकपा (एमाले)का जिल्ला अध्यक्ष महेश बस्नेतसँग प्रतिस्पर्धा हुनेछ। बस्नेत इलाम नगरपालिकाका पूर्वनगरप्रमुख हुनुहुन्छ। प्रतिस्पर्धी बस्नेत युवा भएका कारण आफूले चुनाव जित्ने दाबी गर्नुहुन्छ। 

इलाम निर्वाचन क्षेत्र नं. १ मा सूर्योदय  र माई नगरपालिका तथा माईजोगमाई, सन्दकपुर र रोङ गाउँपालिका गरी पाँच स्थानीय तह रहेका छन्। इलाम नगरपालिकाको वडा नं. १० पनि पर्दछ। गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा सूर्योदय नगरपालिकाको प्रमुखमा नेकपा एसका उम्मेदवार रणबहादुर राई विजयी हुनुभएको थियो। माई नगरपालिकाको प्रमुख र माईजोगमाई गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी बन्नुभएको थियो भने सन्दकपुर र रोङ गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसले जितको थियो। ३९ वटा वडा रहेको यो निर्वाचन क्षेत्रमा स्थानीय निर्वाचनमा नेपाली काग्रेसले १६, एमालेले १५, समाजवादीले सात र स्वतन्त्रले एक वडा जितेका थिए। 

निर्वाचन क्षेत्र नं. १ को प्रदेश (क)मा प्रदेश १ का पर्यटनमन्त्री तथा एसका नेता खिनु लङ्वा लिम्बू, प्रदेश (ख)मा कांग्रेसका क्षेत्र नं. १ का क्षेत्रीय सभापति तथा रोङ गाउँपालिकाका पूर्वअध्यक्ष शमसेर राई चुनावी मैदानमा हुनुहुन्छ।