• ४ वैशाख २०८१, मङ्गलबार

रौतहट ३ मा पेचिलो प्रतिस्पर्धा

blog

यादवराज पुरी 

रौतहट, कात्तिक १४ गते । नेकपा माओवादी केन्द्रीय समितिले दिएको निर्देशन माओवादीकै उम्मेदवारले अवज्ञा गरेपछि रौतहट क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य पदको चुनाव निकै रोचक बनेको छ। 

माओवादीबाट टिकट पाई उम्मेदवारी दिनुभएका धिरज पटेलले नेकपा एमालेको टिकट परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिनुभएका प्रभु साहलाई समर्थन गर्न अस्विकार गरेपछि सो क्षेत्रको निर्वाचन रोचक बनेको हो। 

माओवादीका उम्मेदवार पटेल यतिबेला केन्द्रीय समितिले दिएको निर्देशनलाई बेवास्ता गरी चुनावी प्रचारप्रसारमा लाग्नुभएको छ। उहाँ भन्नुहुन्छ, “केन्द्रले स्वतन्त्र उम्मेदवार साहलाई समर्थन गर्न निर्देश गरे पनि चुनावी मैदानबाट पछि हटिँदैन। उम्मेदवारी दर्ता भइसक्यो। अब कुनै पनि कानुनले उम्मेदवारी फिर्ता हुँदैन। मैले स्वतन्त्र उम्मेदवार साहलाई समर्थन गरेँ भने शहीदको रगतको अपमान हुन्छ। म चुनावी मैदानमा उत्रिसकेँ, जितेर पनि देखाउँछु।’ 

स्वतन्त्र उम्मेदवार एवं पूर्वमन्त्री साहलाई आफ्नो पार्टीमा भित्र्याउन केन्द्रले गरेको रणनीतिबमोजिम आफ्नो उम्मेदवार पटेललाई पछि हट्न निर्देश गरेको जानकारी दिँदै माओवादी पार्टीका जिल्ला संयोजक देवेन्द्र पटेलले उम्मेदवारी फिर्ताको समय सकिएको भोलिपल्ट नेता साहलाई समर्थन गर्न पार्टीले निर्देशन दिएको बताउनुभयो। उहाँकाअनुसार नेता पटेलले पार्टीको निर्देशनको सहर्ष पालना गर्नुपर्छ। नत्र परिस्थिति बिग्रन सक्छ।  

अघिल्लो स्थानीय निर्वाचनमा टिकटबाट वञ्चित भई माओवादी पार्टी त्याग गरेका नेता पटेल पुनः माओवादीमै फर्किएपछि पार्टीले उहाँलाई प्रतिनिधि सभा सदस्य पदका लागि टिकट दिएको र नेता साहलाई समर्थन गर्ने अवस्था आएमा पछि हट्नुपर्ने सर्तसमेत राखेको बताइएको छ। 

नेकपा एमालेको पोलिटब्युरो सदस्यसमेत रहनुभएका साहले पार्टीको टिकट परित्याग गरी स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएपछि एमालेले उहाँलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी एमालेले निष्कासन गरिसकेको छ। २०६३ मा माओवादीबाट अन्तरिम व्यवस्थापिका संसद्को सदस्य बन्नुभएका नेता साह २०६४ र २०७० को संविधान सभा सदस्यमा रौतहट–३ बाट निर्वाचित हुनुभएको थियो। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा माओवादी केन्द्रबाटै निर्वाचित हुनुभएको थियो। तत्कालीन नेकपा विभाजन भएपछि एमालेतर्फ लाग्नुभएका साह अहिले स्वतन्त्र उम्मेदवार हुनुहुन्छ। 

हरेक निर्वाचनमा निर्वाचित हुँदै आउनुभएका नेता साहलाई माओवादी उम्मेदवार पटेलले समर्थन गर्नुभएन भने के हुन्छ होला भन्ने जिज्ञासा जिल्लावासीको छ। चारवटा निर्वाचन क्षेत्र रहेको रौतहटमा अहिले सबैका ध्यान ३ नम्बर क्षेत्रमा केन्द्रित छ। नेपाली कांग्रेसबाट टिकट नपाएर असन्तुष्ट रहनुभएका उद्योगपति ओमप्रकाश जयसवालले पनि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ। उहाँ पनि जित सुनिश्चितको नारा लिएर अघि बढ्नुभएको छ। त्रिकोणात्मक प्रतिस्पर्धा रहेको सो क्षेत्रमा कसले बाजी मार्ने हो कसैले आकलन गर्न सकेका छैनन्।