• १५ चैत २०८०, बिहिबार

श्रम स्वीकृति लिने बढे

blog

काठमाडौँ, कात्तिक १४ गते । कोरोना खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको लचकतासँगै गत वर्षदेखि नै लयमा फर्किएको वैदेशिक रोजगारीमा जानेको सङ्ख्या चालू आर्थिक वर्षको पहिलो महिनादेखि नै बढेको छ । 

वैदेशिक रोजगार विभागका अनुसार आव २०७९/८० को पहिलो महिना साउनमा वैदेशिक रोजगारीमा जान ६१ हजार ६३० श्रमिकले श्रम स्वीकृति लिएका हुन् । उक्त तथ्याङ्कमा काठमाडौँबाहिर रहेका छवटा श्रम कार्यालयबाट लिइएको पुनः श्रम स्वीकृतिको तथ्याङ्क समावेश गरिएको छैन । 

विभागका अनुसार गत वर्षको साउन महिनामा २५ हजार ४२८ ले श्रम स्वीकृति लिएकामा यो वर्ष ६१ हजार ६३० जनाले लिएका छन् । जुन अघिल्लो वर्षको भन्दा ३५ हजार २०५ जनाले बढी हो । गत साउनपछि लगातार उकालो लागेको विदेश जाने क्रम हालसम्म पनि कायम रहेको छ । विभागका अनुसार चालू आर्थिक वर्षको साउनमा बिदामा आएर पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १८ हजारभन्दा बढी रहेको छ भने वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत ३७ हजार ६८० र व्यक्तिगत पाँच हजार ७६ श्रमिकले विदेश जान श्रम स्वीकृति लिएका छन् । 

सरकारले वैदेशिक रोजगारीमा जाने युवाका लागि कोरोनाविरुद्धको खोप व्यवस्थापन गरेपछि पछिल्लो समय करार रद्द गरेर आएका श्रमिक पनि पुनः वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको विभागका निर्देशक कृष्ण भुसालले जानकारी दिनुभयो । 

गत आर्थिक वर्षमा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या ३ दशमलव ६८ गुणाले वृद्धि भएर छ लाख ३१ हजार २९० पुगेको थियो । आव २०७७/७८ मा एक लाख ६६ हजार ६९८ ले श्रम स्वीकृति लिएका थिए । यस्तै आव २०७६/७७ मा श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या तीन लाख ६५ हजार ४३३ रहेको थियो ।

विभागका अनुसार नेपालको आन्तरिक सिर्जना गर्न नसकेका बेला रोजगारीको विकल्पका रूपमा रहेको वैदेशिक रोजगारी कोभिड सङ्क्रमणका कारण दुई वर्ष सुस्त रहे पनि हाल कोभिडअघिकै अवस्थाभन्दा अझ सुधार भएको छ । 

विभागका निर्देशक भुसालले श्रम गन्तव्यमा भएको श्रमिकमैत्री कानुनको परिमार्जन, श्रम स्वीकृति सेवा पूर्ण अनलाइन हुनु र गन्तव्यमा चरम श्रमिक अभावका कारण माग बढ्न गई श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको बताउनुुभयो ।