आन्दोलनका उपलब्धि संस्थागत भए मात्रै गिरिजाबाबुप्रति सच्चा श्रद्धाञ्जलि

girija prasadकाठमाडौँ, चैत ६ गते । विसं ०६२/०६३ को आन्दोलनका नायक गिरिजाप्रसाद कोइरालाको निधन भएको पाँच वर्ष बितिसक्दासमेत उक्त आन्दोलनका उपलब्धि संस्थागत नहुँदा चिन्ता व्यक्त गरिएको छ ।पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका तत्कालीन सभापति कोइरालाको अगुवाइमा सफल भएको सो आन्दोलनका प्रमुख उपलब्धि गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र समावेशिता नयाँ संविधानमार्फत पूर्ण संस्थागत हुन सकेका छैनन् ।

काँग्रेसको तीन पटक सभापति र मुलुकको पाँच पटक प्रधानमन्त्री हुनुभएका कोइरालाको प्रतिनिधिसभाको पुनःस्थापनाको अडानले तत्कालीन निरङ्कुश राजतन्त्रका विरुद्ध थालिएको आन्दोलन सफल भएको थियो ।

छ दशक लामो सक्रिय राजनीतिको अनुभवका आधारमा कोइरालाले जीवनको उत्तराद्र्धमा सहमति, सहकार्य र एकताबाटै शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन जोड दिए पनि उहाँको कार्यकालमा त्यो सम्भव हुन सकेन । मुलुकको राजनीतिकै मियोका रुपमा रहनुभएका कोइरालाले आफ्नो जीवनको उत्तराद्र्धमा ठूलो जोखिम मोलेर तत्कालीन प्रतिबन्धित विद्रोही माओवादीसँग निरङ्कुश राजतन्त्रकाविरुद्धको आन्दोलनमा सहयात्रा गर्नुभएको थियो ।

आफ्नै पार्टीमा विरोध हँुदाहँुदै पनि कोइरालाले मुलुकमा शान्ति ल्याउन हतियारको राजनीति थालेको माओवादीलाई मूलधारको राजनीतिमा ल्याउन अतुलनीय योगदान गर्नुभएको थियो । विसं २००३ मा विराटनगर जुटमिल आन्दोलनबाट राजनीतिक यात्रा सुरु गर्नुभएका कोइरालाले २००७ सालमा प्रजातन्त्र स्थापनाका लागि भएको आन्दोलनका क्रममा विराटनगर कब्जा गर्न मुक्ति सेनाको नेतृत्व गर्नुभएको थियो ।

कोइरालाकै एकल अडानमा पुनःस्थापना भएको तत्कालीन प्रतिनिधिसभाले नै सङ्घीयता, धर्मनिरपेक्षता, समावेशितालगायत महन्वपूर्ण विषयमा ठुल्ठूला घोषणा गरेको थियो ।

उहाँकै नेतृत्वमा २०६४ साल चैत २८ गते मुलुकमा पहिलो पटक निर्वाचन भएको संविधानसभाले २०६५ साल जेठ १५ गते विधिवत् रुपमा गणतन्त्र स्थापनाको घोषणा गरेको थियो ।
नयाँ बन्ने संविधान भने प्रमुख दलबीच मुख्य रुपमा शासकीय स्वरुप, न्याय र निर्वाचन प्रणाली तथा राज्यको पुनःसंरचनाका विषयमा देखिएको विवादले अन्योलमा परेको छ । कोइरालाको निधन भएको दिन चैत ७ गते उहाँको स्मृति दिवस मनाइरहँदा प्रमुख दलबीच संविधान निर्माणमा सहमति हुन त परै जाओस्, सहमति र प्रक्रियाका नाममा दलहरु दुई ध्रुवमा विभाजित छन् ।

यस परिस्थितिमा विभिन्न दलका नेताहरुले आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न सहमतिमा नयाँ संविधान जारी हुन सके मात्र कोइरालाप्रति सच्चा श्रद्धाञ्जलि हुने बताएका छन् ।

नेता कोइरालामा राष्ट्र र जनताका लागि काम गर्ने जुन इच्छाशक्ति थियो त्यो अहिलेका नेताहरुमा नभएका कारण समयमै संविधान जारी गर्न सहमति हुन नसकेको काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाको भनाइ छ । “गिरिजाबाबुमा राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायलाई विश्वास दिलाउने अद्भूत क्षमता थियो” डा कोइराला भन्नहुन्छ, “संविधानसभाबाट समयमै सहमतिका साथ संविधान जारी गरेर आन्दोलनका उपलब्धिलाई संस्थागन गर्न सके उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ ।”

सङ्घीयताका विवादमा देखिएका पूर्वका तीन र पश्चिमका दुई जिल्लालाई सबैको अपनत्व हुने गरी मिलाउनुपर्ने धारणा राख्दै डा कोइराला आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न एवम् जनतालाई सार्वभौमसम्पन्न बनाउन समयमै संविधान जारी गर्नुपर्नेमा जोड दिनुहुन्छ ।

कोइरालासँग प्रतिगमनविरुद्धको आन्दोलनमा लामो समयसँगै काम गर्नुभएका नेकपा माले का महासचिव सिपी मैनाली उहाँको नेतृत्वमा आरम्भ भएको आन्दोलनबाट प्राप्त उपलब्धि र समावेशितालाई सम्पूर्ण जनताले पाउने गरी प्रत्याभूत गर्न सके मात्रै उहाँप्रति श्रद्धाञ्जलि हुने बताउनुहुन्छ ।

हाल देखिएको विषय सङ्घीयता र त्यसमा पनि तराईलाई पहाडमा मिल्न दिने कि नदिने भनी दलबीच बढेको ध्रुवीकरणका सम्बन्धमा मैनाली भन्नुहुन्छ, “जनआन्दोलन–२ का कमान्डर कोइरालाले तराई, पहाड र हिमाललाई अलग हुने गरी प्रदेश बन्न नहुनेमा सदैव जोड दिनुभएको थियो ।”

सहमतिका लागि काँग्रेस र एमालेले अघि सारेको नौबुँदे प्रस्तावमा केही संशोधन गरेर अघि बढे विपक्षी दल पनि सहमतिमा आउने विश्वास व्यक्त गर्दै मैनाली जातीय पहिचान र समान अधिकारका कुरा संविधान तथा कानुनद्वारा सुनिश्चित हुने विषयमा दलहरु सहमतिमा आउनुपर्ने बताउनुहुन्छ ।

एकीकृत नेकपा ९माओवादी० नेतृत्वको मोर्चाले अघि सारेको जातीय र क्षेत्रीय प्रदेशले समस्याको समाधान गर्न नसक्ने तर्क गर्दै उहाँ भन्नुहुन्छ, “सबै जनताको भावना समेटिने गरी भौगोलिक र जातीय रुपमा समावेशी खालको तीनदेखि छ प्रदेश बनाएमा अहिलेको समस्या समाधान हुन्छ, गिरिजाबाबुको परिकल्पना पनि प्रदेशको निर्माण हुँदा भौगोलिक रुपमा अलग नहोस् भन्ने थियो ।”


सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो नेता कोइरालाले तत्कालीन अवस्थामा उठेका सबै आन्दोलनका परिवर्तनलाई आत्मसात् गर्दै सम्बन्धित पक्षसँग समझदारी गरेर मुलुकलाई नयाँ युगमा प्रवेश गराएकाले यतिखेर उहाँको उदार भावनाको आवश्यकता खड्केको बताउनुुहन्छ ।

महतो भन्नुहुन्छ, “गिरिजाबाबुको भावनालाई आत्मसात् गर्दै उहाँले थालनी गरेका कामलाई निष्कर्षमा पु¥याउन सकेमात्र उहाँप्रति श्रद्धाञ्जलि हुनेछ ।”

कोइरालाले मधेस आन्दोलनका बेला तराई मधेसमा स्वायत्त प्रदेशका पक्षमा सम्झौता गरेको अवगत गराउँदै महतो काँग्रेस र नेकपा ९एमाले० को अहिलेको नेतृत्वले उक्त सम्झौतालाई उपेक्षा गरेकाले आन्दोलनका उपलब्धि संस्थागत गर्न समस्या उत्पन्न भएको बताउनुहुन्छ ।

सत्ता पक्षको दुईतिहाइको दम्भले गिरिजाबाबुसँगै सडकको आन्दोलनबाट प्राप्त उपलब्धिलाई सस्ंथागत गर्न अप्ठ्यारो परेको अवगत गराउँदै महतो भन्नुहुन्छ, “गिरिजाबाबुले थालनी गर्नुभएका अभियान पूरा गर्न यतिखेर हामीहरु सडक आन्दोलनमा उत्रनुपरेको छ ।”

आजीवन प्रजातन्त्रको सङ्घर्षमा लागेका कोइरालाको ८६ वर्षका उमेरमा २०६६ साल चैत ७ गते निधन भएको थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना