• ६ चैत २०८०, मङ्गलबार

दैलेख –१ मा त्रिपक्षीय प्रतिस्पर्धा

blog

कमल शर्मा

दैलेख, कात्तिक १३ गते । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा दैलेख निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधि सभामा त्रिपक्षीय प्रतिस्पर्धा हुनेभएको छ । नेकपा (एमाले) बाट रबिन्द्रराज शर्मा, सत्ता गठबन्धनका उम्मेदवार अम्मरबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री कुन्तीकुमारी शाहीबीच त्रिपक्षीय चुनावी प्रतिस्पर्धा हुनेभएको हो । 

एमालेका रबिन्द्रराज शर्मा प्रतिनिधि सभाका निवर्तमान सांसद हुनुहुन्छ । सत्ता गठबन्धन बाट उम्मेदवार बन्नुभएका एकीकृत समाजवादीका कर्णाली प्रदेश अध्यक्ष अम्मरबहादुर थापा कर्णाली प्रदेश सभा सदस्य हुँदै फ्लोर क्रस मार्फत ६ महिने मन्त्री भइसक्नुभएको छ । कुन्तीकुमारी शाही सङ्घीय सरकारमा स्थानीय विकास राज्यमन्त्री भइसक्नुभएको नेत्री हुनुहुन्छ । 

२०६४ मा एमाले संविधान सभाको निर्वाचनमा पराजित हुँदा कांग्रेस विजयी भएको थियो । २०७० को संविधान सभाको दोस्रो निर्वाचन र २०७४ सालमा भएको प्रतिनिधि सभा र प्रदेश सभामा एमाले विजयी बनेको थियो । दैलेख निर्वाचन क्षेत्र नं. १ मा रहेका छ वटा स्थानीय तहमध्ये २०७४ मा भएको स्थानीय निर्वाचनमा नारायण, महावु, भगवती माई गाउँपालिकामा एमाले र गुराँस, नौमुले, डुगेश्वर गाउँपालिकामा कांग्रेस विजयी भएको थियो ।एमाले विभाजनपछि २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा एमालेले नारायण नगरपालिका, गुराँस गाउँपालिका र डुगेश्वर गाउँपालिकामा निर्वाचन जितेको छ ।  कांग्रेसले महावु गाउँपालिका र भगवतिमाई गाउँपालिकाको उपाध्यक्षमा विजयी भएको छ भने माओवादी केन्द्रले दुई पालिका प्रमुखमा विजयी निकालेको छ । 

एमालेले पार्टी विभाजन हुँदा समेत तीन वटा पालिकामा विजयी भएको र तीन पालिकामा सम्मानजनक पराजय भएका कारण प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो विजयी हुने दाबी गरेको छ । एमालेबाट उम्मेदवार बन्नुभएका रबन्द्रिराज शर्माले आफ्नो जित निश्चित भएको बताउनुभयो । 

कांग्रेस निकट रहेका मतदाता र माओवादीका केही मतदाताले सहयोग गर्ने भएपछि आफू निर्वाचन जित्नेमा कुनै शङ्का नरहेको उहाँको भनाइ छ । सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका एकीकृत समाजवादीका प्रदेश अध्यक्ष अम्मरबहादुर थापाले गठबन्धनको मत मात्र सुरक्षित गर्न सकेमा आफू विजयी हुने बताउनुभयो ।  

राप्रपा नेपालका महामन्त्री रहनुभएकी कुन्तीकुमारी शाही यस पटक आफू निर्वाचन जित्नेमा ढुक्क भएको बताउनुहुन्छ । एमाले विभाजन भएको र काँग्रेसले आफ्नो उम्मेदवार नभएका कारण आफूले मत पाएर विजयी हुने उहाँको दाबी छ । तीन पार्टीका उम्मेदवारले आफू जित्ने दाबी गरेका कारण दैलेख १ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।