• ७ वैशाख २०८१, शुक्रबार

जेठको पहिलो हप्तादेखि बन्द रहेको स्टिमर सेवा सुचारु

blog

मिर्मीदेखि सेतीबेनीसम्मका लागि जाँदै गरेका यात्रुहरुसहित स्टिमर । तस्बिर– तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, कात्तिक १३ गते । जेठको पहिलो हप्तादेखि बन्द रहेको स्टिमर सेवा सुचारु भएको छ । स्याङ्जाको आधिमुहान मिर्मीदेखि सेतीबेनीसम्मको ६ किलोमिटरको कालीगण्डकी नदीमा   पानीको बहाव बढेको कारण र वर्षायामका कारण बन्द रहेको स्टिमर सेवा कात्तिकको पहिलो हप्ताबाट सुचारु भएको शिलाशालीग्राम कालीगण्डकी जलयातायात प्रालिका अध्यक्ष डोलराज भट्टराईले जानकारी दिनुभयो ।

गुल्मी खण्डको कालीगण्डकी कोरिडोर र पर्वत खण्डको कालीगण्डकी लोकमार्ग खुलेपछि अहिले मेला पर्व, आन्तरिक पर्यटकहरू र शिलाशालिग्राम दर्शन गर्नेहरूमा मात्र सीमित रहेको उहाँको भनाइ छ । 

कहिलेकाहीँ भर्मणमा आउनेहरूले स्टिमर रिजर्भ गरेर सेतिबेनी शिलाशालीग्रामको दर्शन गर्न  आउने जाने गर्ने गरेता पनि नियमित रूपमा यात्रुहरूको अभावका कारण चल्न नसकेको भट्टराईले जानकारी दिनुभयो । 

गुल्मी खण्ड, स्याङ्जा र पर्वत खण्डमा जताततै मोटरबाटोहरुको पहुँच भएका कारणले पनि स्टिमर सञ्चालनमा प्रभाव परेको उहाँको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय, स्याङ्जाबाट २०६२ सालमा स्वीकृत लिएर सञ्चालनमा ल्याइएको स्टिमर सेवा २०७० सालमा कम्पनी रजिष्टारमा दर्ता भई सञ्चालनमा आएको छ ।

पहिले १२ वटा साना ठूला गरी स्टिमरहरू रहेता पनि हाल भने चार वटा मात्रै सञ्चालनमा रहेको भट्टराईले बताउनुभयो ।

प्रतिव्यक्ति एकतर्फी टिकट काटेर जानुपरेमा दुई सय रुपियाँ निर्धारण गरिएको छ भने रिजर्भको लागि दुई हजार रुपियाँदेखि स्टिमरको क्षमताअनुसार निर्धारण गर्ने गरेको उहाँको भनाइ छ ।  विशेष गरी गुप्रमा आउनेहरूका लागि छुटको व्यवस्था समेत गरिएको छ । 

कालीगण्डकी नदीमा मिर्मीदेखि सेतीबेनीसम्मको जलयात्राको समय ३० देखि ४५ मिनेट सम्मको रहने भट्टराईले जानकारी दिनुभयो ।