• १३ वैशाख २०८१, बिहिबार

गाउँमा भेटिन छाडे परम्परागत घुमाउने घर

blog

ढुङ्गाले बान्की मिलाएर छाएको छानो, ढुङ्गाकै गारो, रातो माटो र सेतो कमेरोले पोतेर श्रृङ्गार गरिएका घुमाउने घर । तस्बिर : रासस

ढोरपाटन (बागलुङ), कात्तिक १३ गते । ढुङ्गाले बान्की मिलाएर छाएको छानो, ढुङ्गाकै गारो, रातो माटो र सेतो कमेरोले पोतेर शृङ्गार गरिएका घुमाउने घरहरू पछिल्लो समय ग्रामीण क्षेत्रबाट लोप हुँदै गएका छन् । एकाध भेटिए पनि जीर्ण अवस्थामा मात्रै भेटिन्छन् । कलात्मक शैलीका झ्याल तथा ढोका भएका र मौलिकतासँग जोडिएका घुमाउने घर बनाउने सिकर्मी डकर्मीसमेत अचेल पाइँदैनन् ।

पछिल्लो समय आधुनिकता हाबी हुँदा यस्ता मौलिक घर लोप हुँदै गएको स्थानीयहरूको बुझाइ छ । मगर र गुरुङ समुदायको पहिचानसँग जोडिएका यस्ता घुमाउने घर संरक्षण अभावमा लोप हुँदै गएको निसीखोला गाउँपालिका–१ का तीर्थराम गुरुङको भनाइ छ । उहाँले परम्परागतभन्दा आधुनिक शैलीका घर बनाउन सहज हुने भएपछि घुमाउने घर सङ्कटमा पारेको बताउनुहुन्छ ।

“१२–१५ वर्ष अघिसम्म गाउँका धेरै स्थानमा घुमाउने घरहरू भेटिन्थे, अहिले १–२ वटा पनि भेट्याउन मस्किल पर्छ, घुमाउने घर बनाउन सोही किसिमको सीप चाहिन्छ”, उहाँले भन्नुभयो, “तर अहिले सिमेन्ट, गिट्टी र बालुवा बनाउन सजिलो हुन थाल्यो ।” गुरुङ घुमाउने घर निर्माण गर्ने मिस्त्रीहरूको सीप पुस्तान्तरण नहुँदा लोप हुँदै गएको बताउनुहुन्छ ।

त्यस्तै, स्थानीय पूर्णबहादुर घर्ती मगरले भन्नुभयो, “घुमाउने घर मगर र गुरुङको पहिचानसँग जोडिएको छ, तर हामी नै यसको संरक्षण गर्न सकेका छैनौँ, आगामी दिनमा यसको संरक्षणमा काम गर्ने को नै होला र ?”

निसीखोला गाउँपालिका–६ का नरसिंह बुढामगर घुमाउने घरको संरक्षण गर्न सक्ने हो भने आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने बताउनहुन्छ । यस्ता घरहरूलाई नयाँ ढङ्गले संरक्षण र मर्मत गरी सञ्चालन गर्न पनि सकिने उहाँको भनाइ छ । गाउँ ठाउँमा भएका घुमाउने घरको तथ्याङ्क सङ्कलन गर्ने र पुनर्निर्माण गरी संग्राहलयको रूपमा विकास गर्न सकिने उहाँको सुझाव छ ।

घुमाउने घर आधुनिक घरभन्दा न्यानो हुने हुँदा गुरुङ र मगरहरू यस्ता घर बनाउनमा बढी केन्द्रित हुने गरेको उहाँको भनाइ छ । उच्च पहाडी क्षेत्रमा जनजाति समुदायको बसोबास बढी हुने र त्यस्ता स्थानहरूमा बढी जाडो हुने हुँदा न्यानोका लागि घुमाउने घर बनाउने गरेको उहाँको भनाइ छ ।