• ६ वैशाख २०८१, बिहिबार

एक महिनाभित्र मेलम्चीको पानी राजधानीमा ल्याइने

blog

मेलम्चीकाे पानी ।

विष्णु पाण्डेय

काठमाडौं, कात्तिक १३ गते । गत जेठ महिनाबाट काठमाडौं उपत्यकामा आउन छाडेको मेलम्चीको पानी  एक महिनाभित्र उपत्यकामा ल्याउने गरी काम भइरहेको छ । मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तकाअनुसार एक महिनाभित्र मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याएर वितरणको प्रक्रिया थालिनेछ ।

गत जेठ १७ गते प्रि–मनसुन सुरु हुने बित्तिकै बाढीले आयोजनामा क्षति गर्छ भनेर आयोजनाको मूल गेट नै बन्द गरिएको थियो । वर्षाको समयमा आएको पहिरो र बाढीका कारणले हेडबक्स पुरिएकाले त्यसको वरिपरि अस्थायी रूपले सफा गरेर पानीलाई उपत्यका ल्याइने उहाँको भनाइ छ ।

'पुरिएको हेडबक्सको स्थायी रूपले उत्खनन तथा सफाइ भने पछि हुनेछ । वर्षाका कारणले पुरिएको हेडबक्सको आसपासमा भएको फोहोरलाई सफा गरेर अस्थायी रूपमा पानीलाई काठमाडौं उपत्यकामा ल्याउँछौँ', उहाँले भन्नुभयो, 'पछि हेडबक्सको स्थायी रूपले उत्खनन तथा सपाई भने पछि गर्छौँ।'

हेडबक्सलाई ठुल्ठूला ढुङ्गाले पुरेकाले तत्काल यी ढुङ्गाहरू हटाउन नसकिने उहाँको भनाइ छ । हेडबक्स मात्र नभएर त्यहाँसम्म पुग्ने बाटो पनि बाढीले प्रभावित पारेको थियो ।

यस्तै, उक्त क्षेत्रमा वर्षाका कारणले भत्काएको पुल र बाटो निर्माण पनि चलिरहेको छ । सूचना अधिकारी पन्तकाअनुसार बाढीले बगाएका पुल र बाटो निर्माण नै मुख्य चुनौतीका रूपमा रहेको छ । दशैँपछि बाटो र अस्थायी पुलको निर्माणको काम चलिरहेको छ । पुल र बाटो निर्माण नभएसम्म उपत्यकामा पानी ल्याउन असम्भव रहेको उहाँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, वर्षाले बगाएको बाटो र पुल निर्माणको क्रम जारी छ । हेडबक्समा पुग्नका लागि नै समस्या हुने भएकाले यी नबनेसम्म पानी काठमाडौं ल्याउन असम्भव थियो । दशैँ पछि बाटो र अस्थायी पुल निर्माणको काम थालनी भएको समेत उहाँले बताउनुभयो ।

छठपछि निर्माणको काम द्रुत रूपमा हुने र यो महिनामा काम सकेर मङ्सिर महिनाको १५ गतेभित्र पानी काठमाडौं ल्याउने उहाँको भनाइ छ । अहिले भइरहेको काम हेलम्बु गाउँपालिका र मेलम्ची खानेपानी आयोजनको आर्थिक सहयोगमा भइरहेको हो ।

पन्तकाअनुसार आयोजनाले काठमाडौं उपत्यकामा मेलम्चीबाट करिब १७ करोड लिटर पानी पुर्‍याउँदै आएको थियो । भविष्यमा याङ्ग्री र लार्केबाट पनि पानी ल्याउने भनिएको आयोजना पूर्ण रूपमा सम्पन्न हुँदा कुल ५१ करोड लिटर पानी काठमाडौं ल्याउने बताइएको छ ।