• १६ चैत २०८०, शुक्रबार

चुरा गोदाममा आगो लाग्दा एकको मृत्यु, एक घाइते

blog

आगलागीबाट विस्फोट भएर क्षतिग्रस्त भएको घर । तस्बिर - सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, कात्तिक १३ गते । नेपालगञ्जमा चुराको गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । आगलागीबाट ठूलो क्षति समेत पुगेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेकाअनुसार आइतबार बिहान करिब ५ः४० को समयमा नेपालगञ्ज–५ रामनगरमा राजनकुमार नागको घरमा रहेको मो आरिफ अन्सारीको चुराको गोदाममा एक्कासि आगलागी भएको थियो ।

अन्सारीले गोदामका लागि भाडामा लिएको सो घरमा आगलागी हुँदा गम्भीर घाइते भएर उपचारका लागि भेरी अस्पताल पुर्‍याइएका बर्दिया मधुवन नगरपालिका–८ बस्ने २३ वर्षीय समीर वलीको मृत्यु भएको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो । 

घाइते गोदामका सञ्चालक आरिफ अन्सारीको भेरी अस्पतालमा उपचार भएर खतरामुक्त रहेको बताउनुभयो । 

मृतक वली शनिबार भेटघाटको क्रममा त्यहाँ आउनु भएको र राति सोही घरमा बस्नु भएकाले आगलागीमा पर्नु भएको थियो । 

प्रहरीका अनुसार सबै चुरा जलेर नष्ट हुनाको साथै विस्फोट हुँदा धेरै क्षति भएको छ । 

बिहान ५ः४० मा लागेको आगो स्थानीय प्रहरी, सशस्त्र प्रहरी, नेपालगञ्ज उपमहानगरपालिकाको दुई वटा दमकल र स्थानीयको सहयोगले साढे ६ बजे पूर्णरुपले नियन्त्रणमा लिन सफल भएको थियो ।