• १६ चैत २०८०, शुक्रबार

घले गाउँमा एकैदिन ३८० जना पर्यटक

blog

पर्यटकीय गाउँ घले गाउँमा पुगेका पर्यटक । तस्बिर: वेलिना थापा

लमजुङ, कात्तिक १३ गते । लमजुङको क्व्होलासोंथर गाउँपालिका वडा नं. ३ स्मार्ट भिलेज एवं सुखी गाउँ घले गाउँमा पर्यटकको ओइरो लागेको छ । घले गाउँमा शुक्रबार मात्रै ३८० जना पर्यटक पदयात्रामा पुगेका छन् । 

नेपालीको महान् चाड तिहार सकिए लगत्तै आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको स्थानीयले बताएका छन् । तिहार मनाएर पनि पर्यटक थप रमाइलो गर्न घले गाउँमा पुगेका छन् । स्मार्ट भिलेज घले गाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घ घलेका अनुसार तिहारको बिदा सकिए लगत्तै पनि बिदा भएकाले बिदा मनाउन पर्यटक आएका छन् । बिहीबार भाइटिका लगाएर तिहार सकिए पनि शुक्रबार पनि तिहार बिदा थियो । शनिबार सार्वजनिक बिदाको दिन र आइतबार पनि छठ पर्वको सार्वजनिक बिदा परेकाले गाउँ पुगेको बताउनुभयो । गाउँमा अटाउन नसकेपछि भुजुङ र घन पोखरामा बासका लागि पठाइएको समितिले जनाएको छ ।

शनिबार दुई सय जना पर्यटक गाउँ पुगेका छन् । तिहार सकिनु, मौसम सफा हुनु र सार्वजनिक बिदाको दिन परेकाले पर्यटक घले गाउँमा रमाउन पुगेको समितिका सचिव उमल विकले बताउनुभयो । यसअघि दैनिक ५०-६० जनाको हाराहारीमा पर्यटक घले गाउँ पुग्ने गर्थे ।

अहिले बाटो सहज भएकाले पर्यटक घुम्न घले गाउँ जानेका गरेका छन् । समितिका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार बिदाको समय कटाउन विद्यार्थी, कर्मचारी मात्र नभएर परिवार नै लिएर पनि जाने गरेका छन् । गाउँ आएर मनोरम दृश्यसङ रमाउने, फोटो खिच्ने, अर्ग्यानिक परिवार सङ्ग रमाउने, स्थानीय कला, संस्कृतिमा रमाउने गरेका छन् ।

पर्यटकीय घले गाउँमा २०५६ सालबाट पर्यटन प्रवर्द्धनका कार्यक्रमसहित २०५७ बाट होमस्टे सञ्चालनमा ल्याइएको थियो । १२ घरबाट सुरु गरिएको होमस्टे अहिले ४४ घरमा सञ्चालन गरिएको छ । घले गाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, हिमालचुली, मनासलु, गणेश लगायतका दर्जन हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । घले गाउँ आउने पाहुनालाई गुरुङ संस्कृति घाँटु, सोरठी, कृष्णचरित्र लगायतका पौराणिक नृत्य देखाउने गरिन्छ । गाउँमा नमुना चिया बगान, तिजे उत्तर कन्या मन्दिर छ । गाउँबाट हिमाल दृश्यावलोकन, सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकन, गोर्खा आर्मी पार्क, सार्क भिलेज पर्यटन सङ्ग्रहालय, स्वर्ग भूमि रङ्गशाला, क्व्होइँबो धी पार्क हेर्न सकिन्छ ।

यो पनि पढ्नुहोस

गल्फगाड श्रीनगर कालागाड सडक खण्ड सुचारु

‘पत्थर जस्तो दिल’ सार्वजनिक

सुदूरपश्चिम प्रदेशमा भूकम्प महसुस

पर्यटकीय सेवा सुविधा, स्थानीय कला संस्कृतिको प्रवर्द्धन तथा गतिविधि, होमस्टे कार्यक्रममा समुदायको संलग्नताले स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा घले गाउँ परेको छ । गाउँमा आउने पर्यटकलाई लोकल खसी, भेडा, कुखुराको मासु खुवाउने गरिन्छ । माछाको सुकुटी, लोकल रक्सी, बनमा पाइने निगुरो, कुरिलो, सिस्नो, बडमले, खोले, रायो सागको स्वाद लिन सकिन्छ । घले गाउँ लमजुङको बेंसीसहरदेखि २४ किलोमिटरको दुरीमा पर्छ  । 

Author
बेलिना थापा

उहाँ गोरखापत्र प्रकाशनका लागि लम्जुङ समाचारदाता हुनुहुन्छ ।