• ८ वैशाख २०८१, शनिबार

गल्फगाड श्रीनगर कालागाड सडक खण्ड सुचारु

blog

हुम्ला कात्तिक १३ गते । अविरल परेको वर्षाका कारण दुई दर्जन बढी स्थानमा अवरुद्ध बनेको सडक सुचारु भएको छ । हुम्ला अदानचुली अन्तर्गतको गल्फ गाड श्रीनगर काला गाड सडक खण्ड शनिबार बेलुकाबाट सुचारु भएको छ ।

केही दिन अगाडीबाट अदानचुली– ५ को काला गाडबाट मर्मत कार्य सुरु गरिएसँगै मर्मत कार्य सम्पन्न भएपछि सडक सुचारु भएको हो । उक्त मर्मत कार्यमा खटिनु भएका प्राविधिक जानदत्त जैसीले सो सडक खण्डको अन्तिम  विन्दु काला गाडबाट एक्स्काभेटर मेसिनद्वारा मर्मत कार्य सुरु गरिएको उक्त खण्डको गल्फ गाड सम्मको ३२ किलोमिटर सडक खण्ड २६ दिनपछि सुचारु भएको बताउनुभयो । 

वर्षाले विभिन्न ठाउँमा क्षति पुर्‍याएको खण्डमा यसअघि कुनै सवारीसाधन सञ्चालनमा नआए पछि सेवाग्राही मर्कामा पर्नु भएको थियो । रात दिन लागेर मर्मत सम्भारमा जुटेको एक्स्काभेटर मेसिनद्वारा उत्त खण्ड खोलिएको छ । यस्तै अदानचुली– ४ को लौँठी देखी रिल्म बिगोठी सडक समेत सञ्चालनमा आएको छ । 

गल्फागाडसम्म सडक मर्मत कार्य सम्पन्न भएपछि आज (आइतबार) बाट अदानचुली गाउँपालिका क्षेत्र भित्र रहेको कर्णाली करी डोर तर्फ मर्मतमा जुट्ने गाउँपालिकाले जनाएको छ । गल्फागाडसम्म सडक सुचारु भएसँगै अबको केही दिनमा सहर जाने नागरिकहरूलाई सहज हुने छ । अबको तीन दिन भित्र गाउँपालिका क्षेत्र भित्र रहेको सडक सञ्चालनमा ल्याउने गाउँपालिकाले जनाएको छ । 

सडक सुचारु भएसँगै श्रीनगर देखि बाजुराको तीथिचौरसम्म जान सकिने भएको छ । तिथि चौर भन्दा उता खण्ड खोल्न समय लाग्ने भएकाले तिथि चौरदेखि धुला चौरसम्म पैदल यात्रा गरी बाजुराको मार्तडी हुँदै सुदूरपश्चिमको बाटो भएर सहरी क्षेत्र जान सहज हुने भएको छ । बाटोको विभिन्न ठाउँमा भत्किदा दशैं तथा तिहारका लागि घर आएका नागरिकहरू बाटो अवरुद्ध हुँदा भएका छन् । 

Author

राजन रावत