• ८ वैशाख २०८१, शनिबार

तीन सातामा खुल्यो सडक

blog

कालीकोट समाचारदाता 

कालीकोट, कात्तिक १३ गते । पहिरोले अवरुद्ध बनेको सुर्खेत–जुम्ला सडकको कालीकोट खण्ड २१ दिनपछि पूर्ण रूपमा खुलेको छ । गत असोज २० गतेदेखि अवरुद्ध भएको सडक कात्तिक १० गते साँझबाट पूर्ण रूपमा खुलेको हो ।  

सडक अवरुद्ध हुँदा २१ दिनसम्म आवतजावत पूर्ण रूपमा ठप्प भएको थियो । केही खण्डमा गत असोज २७ गतेयता साना गाडी चले पनि कालीकोटको पिलीदेखि जुम्लासम्मको सडक भने खुल्न सकेको थिएन । सो खण्डमा सबैभन्दा धेरै पहिरो खसेको थियो भने तिला नदीमा आएको बाढीले धेरै ठाउँमा सडक कटान गरेर पैदल यात्रासमेत बन्द भएको थियो । डिभिजन सडक आयोजना जुम्ला, सुर्खेतले दुवै तर्फबाट सडक मर्मतको काम एकैसाथ गरेपछि २१ दिनमा पूर्ण रूपमा सडक खुलेको जनाइएको छ । कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले सडक विभागले पनि चासोका साथ कुरा सुनेको र नेपाली सेनाले पनि ‘ब्लास्टिङ’ गर्ने ठाउँमा समयमै सबै स्रोतसाधन जुटाएका कारणले सडक सञ्चालन गराउन सफल भएको बताउनुभयो । 

सुरुमा प्रहरीको रिपोर्ट सुन्दा तीन महिना लगाउँदा पनि सडक खुलाउन सकिँदैन कि भन्ने त्रास थियो तर विपत्का बेला स्थानीय सरकारदेखि सबै सुरक्षा निकाय र सडक विभागले पनि बिदामा गएका कर्मचारी अपरेटरलाई समयमै खटाएका कारणले २१ दिनको बीचमा सडक खुलाउन सफल भएको सुनाउनुभयो । वर्षाले सबैभन्दा बढी सडक क्षति कालीकोटमा गरेको थियो । 

कालीकोट सदरमुकाम मान्मदेखि जुम्ला सिमाना नाग्मसम्मको ४५ किलोमिटर सडकमा ६० ठाउँमा पहिरो खसेको थियो भने नदीले सडक बगाएको थियो । मान्मदेखि दहीखोला खण्डमा पनि २० भन्दा बढी ठाउँमा पहिरो झरेको थियो । सुर्खेत जुम्ला सडक सञ्चालन भएपछि अब दशैँतिहारमा गाउँ आएकालाई कर्मथलो फर्किनसमेत सहज भएको छ ।