• १६ चैत २०८०, शुक्रबार

‘आर्थिक वृद्धिदर ४.२ प्रतिशत’

blog

काठमाडौँ, कात्तिक १३ गते । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत हुने आकलन गरेको छ। आईएमएफले भर्खरै सार्वजनिक गरेको एसिया प्रसान्त क्षेत्रको यो प्रतिवेदन ‘क्षेत्रीय आर्थिक परिदृष्य’ले सन् २०२३ मा भने नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने आकलन गरेको छ। 

नेपालको यो प्रक्षेपण उदीयमान तथा विकासशील अर्थतन्त्रको औसत अवस्थाभन्दा राम्रोमा रहेको छ। आईएमएफले यी मुलुकमा सन् २०२२ मा ४.४ र २०२३ मा ४.९ प्रतिशतको वृद्धिदर हुने अनुमान गरेको छ। 

कोरोना महामारी र रुस–युक्रेन युद्धको प्रभावले इन्धन तथा खाद्यान्नमा भएको उच्च मूल्य वृद्धिका कारण सन् २०२२ को पहिलो छ महिनामा नेपाललगायत भारत, भुटान, माल्दिभ्स र श्रीलङ्कासहित फिलिपिन्स र थाइल्यान्डको अर्थतन्त्रले ठूलो नकारात्मक असर थेग्नुपरेको प्रतिवेदनमा औँल्याइएको छ। 

आयातमा आधारित अर्थतन्त्रको बाह्य क्षेत्र बढी प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ। आयातमै आधारित नेपाल, भारत र फिलिपिन्समा ठूलो जनसङ्ख्या इन्धन र खाद्यान्नको मूल्य वृद्धि र रासायनिक मलको चरम अभाव झेल्नुपर्दा आर्थिक वृद्धिको पूर्व अपेक्षित गति धिमा भएको प्रतिवेदनमा औँल्याइएको छ। भारतको भने आर्थिक वृद्धिदर यो वर्ष ६.८ प्रतिशत र आगामी वर्ष ६.१ प्रतिशत रहने आकलन आईएमएफको छ। दक्षिण एसियामा श्रीलङ्काको भने आर्थिक वृद्धिदर यो वर्ष ८.७ प्रतिशतले ऋणात्मक रहनेछ भने २०२३ मा तीन प्रतिशतले ऋणात्मक हुने देखाइएको छ। बङ्गलादेशले यो वर्ष ७.२ प्रतिशतको आर्थिक वृद्धिदर कायम गर्नेछ भने आगामी वर्ष घटेर छ प्रतिशतमा सीमित हुनेछ। 

एसिया प्रसान्त क्षेत्रको आर्थिक वृद्धि कम हुनुको पछाडि विश्वव्यापी महामारी र युद्धका अतिरिक्त कर्जा लगानीको प्रभावकारिता कम देखिएको आईएमएफको दाबी छ। चीनको आर्थिक वृद्धिदर ३.२ प्रतिशतमा खस्कने अवस्थाका कारण पनि अन्य देशको अर्थतन्त्र प्रभावित हुने देखिएको आईएमएफको आकलन छ। 

सो प्रतिवेदनअनुसार सार्वजनिक तथा निजी क्षेत्रमा भएका कर्जा प्रवाहको अपेक्षित परिणाम हासिल हुन सकेको छैन। एसिया प्रसान्त क्षेत्रमा मूल्य वृद्धिमा नियन्त्रण गर्न ठूलो चुनौती रहेको जनाइएको छ।

आईएमएफका अनुसार सन् २०२१ मा ५.७ प्रतिशतको वृद्धिदर पाएको अमेरिकी अर्थतन्त्र सन् २०२२ मा १.६ र २०२३ मा एक प्रतिशतमा सीमित हुने आकलन छ। विश्व अर्थतन्त्र भने २०२२ मा २.७ र २०२३ मा २.७ हुने आकलन छ।