• १३ वैशाख २०८१, बिहिबार

आगलागीबाट एक करोड साढे तेह्र लाखको क्षति

blog

धनगढी, कात्तिक १३ गते । कैलालीको गौरीगङ्गा नगरपालिका–१ चौमाला बजारस्थित पाँच वटा पसल र एक होटेलमा आगलागी हुँदा करिब एक करोड साढे १३ लाख रुपियाँ बराबरको क्षति भएको छ । 

हिजो साँझ भएको आगलागीबाट दुई वटा मोबाइल पसल, दुई वटा किराना, एउटा हार्डवेयर पसल र एक वटा होटेलमा नोक्सान भएको हो । हिमाल मोबाइल ग्यालरीमा अचानक विद्युत् सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । मोबाइल ग्यालरीमा लागेको आगो तत्काल निभाउन नसकिएपछि नजिकका अन्य पसलमा पनि आगलागी भएको थियो । 

आगलागीबाट छविलाल खनालको हार्डवेयर पसलमा सबैभन्दा बढी ४५ लाख रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसै गरी, टङ्कप्रसाद आचार्यको सुज सेन्टरमा भएको आगलागीबाट ३० लाख, हिमाल पुनमगरको मोबाइल ग्यालरीमा रहेको विभिन्न सामान जलेर १२ लाख रुपियाँ बराबरको क्षति भएको छ । 

पारस सापकोटाको मोबाइल ग्यालरीमा रहेको इलेकट्रोनिक सामान जल्दा १० लाख रुपियाँ बराबरको क्षति भएको छ । जयसिंह भण्डारीको किराना पसलको सामान जलेर १५ लाख रुपियाँ बराबरको क्षति भएको छ । यस्तै, विष्णुकुमार पाण्डेयको लुम्बिनी होटेलको भाडा, लत्ताकपडा लगायत एक लाख ५० हजार रुपियाँ बराबरको सामान जलेको प्रहरीले जनाएको छ । 

साँझ ७ः२० बजे लागेको आगो ८ः१० मा पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश ढकालले जानकारी दिनुभयो । आगो निभाउनका लागि गोदावरी नगरपालिका र घोडाघोडी नगरपालिकाको दमकल प्रयोग गरिएको थियो । यसै गरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी र स्थानीयवासी आगो निभाउनका लागि खटेका थिए । 

Author

अविनाश चौधरी