• १२ वैशाख २०८१, बुधबार

प्रेमको प्रतीक च्याखुरा सङ्कटमा

blog

गोकर्ण दयाल 

बैतडी, कात्तिक १३ गते  । कुनै प्रेमीले आफ्नी प्रेमिकालाई हेरेझैँ शुक्लपक्षमा चन्द्रमालाई हेरिरहने उपमामा प्रयोग हुने च्याखुराको बासस्थान रहेका डाँडामा डोजरले जथाभाबी सडक खन्दा च्याखुरा सङ्कटमा पर्न थालेको छ । च्याखुरालाई नेपाल सरकारले खतराको नजिक रहेको प्रजाति मानेको छ । 

बैतडीको दोगाडाकेदार गाउँपालिकाको चडेपानी क्षेत्रमा पाइने च्याखुरा सबैभन्दा प्रसिद्ध च्याखुरा मानिन्छ । दशरथ चन्द नगरपालिकाको रानीबुङ्गा, जर्ग, पाटन नगरपालिकाको खोड्पे क्षेत्र र सिगास गाउँपालिकाको वृन्दावन, जुकेपानी च्याखुराको उपयुक्त बासस्थान मानिन्छ । अहिले च्याखुराको बासस्थान मानिएका ठाउँमै च्याखुरा भेटिन छोडेको छ । 

च्याखुरा उच्च पहाडी र हिमाली क्षेत्रमा पाइने चराको एक प्रजाति हो । तित्राभन्दा ठूलो र कालिजभन्दा सानो, रातो चुच्चो हुने च्याखुरा कुखुराको भालेझैँ लड्न प्रसिद्ध मानिन्छ । लडाकु मानिने च्याखुरालाई प्रेमको प्रतीक पनि मान्ने गरिन्छ । पूर्वी नेपालको तुलनामा पश्चिम नेपालमा यसको सङ्ख्या बढी थियो । नेपालमा सबैभन्दा पहिला सन् १७९३ मा क्रिकप्याट्रिकले यो प्रजातिको अभिलेख गरेको तथ्याङ्क छ । कुनै बेला काठमाडौँ उपत्यकाको वरिपरिसमेत भेटिने यो प्रजाति पछिल्लो समय नेपालभर घट्दै गएको छ ।

च्याखुरालाई ठाउँ र स्थानअनुसार च्याखुरा, चाखुरो, चकोर वा चुकर पनि भन्ने गरिन्छ । च्याखुरा समुद्री सतहबाट एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटरको उचाइसम्म पाइने गरेको छ । यो चराले ओखर, बदाम, पिठो, धान र पिठोभित्र मिसाएको घिउ खान असाध्यै मन पराउँछ । घरमा पालिएको च्याखुरालाई यस्ता खानेकुरा दिने गरिन्छ । वनमा भएका च्याखुराले पनि सकेसम्म यस्तै खालको खानाको खोजी गर्ने गर्छन् । च्याखुरा जङ्गलमा पाइने प्रजातिको चरा भए पनि यसलाई घरमा ल्याएर पाल्ने चलन रहिआएको छ । पहिले धेरैजसोले यो चराको भालेलाई पाल्ने गरेको भए पनि पछिल्लो समयमा यो चरा पाल्ने चलनसमेत हराउँदै गएको छ ।

नेपाल एकीकरणअघि स्थानीय राजारजौटा र खानदानी घरका मानिसले च्याखुरा पाल्ने गरेको उद्योग वाणिज्य सङ्घ बैतडीका उपाध्यक्ष खिमानन्द भट्टले बताउनुभयो । च्याखुरा लडाएर प्रतियोगिता सञ्चालन हुने गरेको स्मरण गर्दै उहाँले च्याखुरा हराउन थालेपछि बैतडीमा च्याखुरा प्रतियोगिता हुन छोडेको बताउनुभयो । उहाँले भन्नुभयो, “बैतडीको च्याखुरा निकै चलाख र लडाकुु स्वभावको चरा भएकाले यसलाई घरमा ल्याएर पाल्ने चलन थियो । अहिले च्याखुरा देख्नै मुस्किल छ ।”

च्याखुरा पहाडका कडा चट्टानमा बस्न मन पराउने चरा हो । पछिल्लो समय जलवायु परिवर्तन र च्याखुराको बासस्थान रहेका पहाडमा डोजरले सडक निर्माण गर्दा पहाड हल्लिन थालेपछि च्याखुराको बासस्थान सङ्कटमा परेको डिभिजन वन कार्यालय बैतडीले बताएको छ । 

च्याखुराको भाले र पोथीको रङ फरक रहेको पाइन्छ । भाले च्याखुराको पन्जा हुन्छ भने पोथी च्याखुराको पन्जा हुँदैन । भाले च्याखुराको घाँटीमा पोते आकारको गाढा रङ हुन्छ भने पोथीको फिक्का रङ हुन्छ । पोथी च्याखुरा घरमा ल्याएर पाल्ने चलन छैन । पोथी च्याखुराले घरमा फुल पारे अपशकुन मान्ने चलन रहेको बूढापाकाको भनाइ छ । 

च्याखुरो मानव र प्रकृतिबीचको सम्बन्ध दर्शाउने चराका रूपमा समेत मानिने गरेको नागरिक समाज बैतडीका सचिव करन दयाल सोराडीले बताउनुभयो । वनबाट ल्याएको च्याखुरो एक÷दुई दिनमै मानिससँग घुलमिल हुन्छ, त्यसैले च्याखुरा र मानवबीचको सम्बन्ध निकट देखिएकाले च्याखुरा संरक्षण गर्न सरोकारवाला निकाय जागरुक बन्नुपर्ने सोराडीले बताउनुभयो । 

बिहानी र साँझको बेलामा च्याखुरी–च्याखुरी गर्दै बास्ने गर्छ । बिहान र साँझको समयमा सुनिने च्याखुराको आवाज अचेल सुनिन छोडेको दशरथ चन्द नगरपालिका–२ का रमेश बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “च्याखुरा बैतडीको चिनारी हो । च्याखुरा के कारणले हराउँदै गएको छ ? यो विषयमा चराविज्ञले विस्तृत खोज अनुसन्धान गर्नुपर्ने देखिएको छ ।”