• १६ चैत २०८०, शुक्रबार

सिन्जा क्षेत्र बाढीपहिरोले आक्रान्त

blog

नेत्र शाही

जुम्ला, कात्तिक १३ गते । गत असोज १९ देखि २४ गतेसम्म लगातारको वर्षाले सिन्जा क्षेत्रमा सबैभन्दा बढी क्षति भएको पाइएको छ । बाढीपहिरोले मानवीय क्षतिसँगै भौतिक क्षतिले सिन्जा अहिले आक्रान्त छ । 

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार बाढीपहिरोबाट जुम्लामा एक हजार ९५२ जनसङ्ख्या विस्थापित भएका छन् । जसमध्ये सिन्जा गाउँपालिकाका मात्रै ७२५ जना छन् भने कनकासुन्दरी गाउँपालिकाका 

२९८ विस्थापित भएका छन् । 

सिन्जा क्षेत्रको हिमा गाउँपालिकामा सबैभन्दा बढी घर क्षति भएको तथ्याङ्क सार्वजनिक भएको छ । गाउँपालिकाको तथ्याङ्कअनुसार ३८६ घरधुरी पूर्ण रूपमा क्षति भएका छन् । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार ३८६ घरधुरीका करिब एक हजार बढी जनसङ्ख्या विस्थापित छन् । अध्यक्ष शाहीले विस्थापितहरू अहिले कोही पालमा दिन–रात बिताइरहेका छन् भने कोही आफन्त र छिमेकीका घरमा आश्रय लिइरहेका जनाउनुभयो । सो पालिकामा ५१९ घर आंशिक र ६१३ घर सामान्य क्षति भएका छन् । 

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार सिन्जामा १५७ घरधुरी र कनकासुन्दरीमा ४६ घरधुरी विस्थापित भएका छन् । यसरी सिन्जाको हिमा, सिन्जा र कनकासुन्दरी गाउँपालिकामा मात्रै ५८९ घर पूर्ण क्षति भएका छन् । सिन्जा गाउँपालिकाको भवनमा बाढी पसेको अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो । 

बाढीपहिरोमा परी सिन्जा क्षेत्रको कनकासुन्दरी गाउँपालिका–७, बारकोटेवाडामा पहिरोले एकै परिवारका पाँच, छिमेकी दुई र पुल तर्दै गर्दा सोही वडामा एक जना गरी आठ जनाको मृत्यु भएको छ । यसैगरी हिमा गाउँपालिका–३, जोगीवाडामा एक आमा र छोरालाई बाढी घरबाट सुरक्षित स्थानमा जाँदै गर्दा बगाएको छ । स्थानीय सत्यदेवी योगी र उहाँका छोरालाई बगाउँदा आमाको शव भेटिएको र छोरा बेपत्ता छन् । 

बाढीपहिरोले सिन्जामा २३६ घरधुरी, कनकासुन्दरी ६७ र हिमामा २२ घरधुरी उच्च जोखिममा छन् । यसैगरी सिन्जामा २२० घरधुरी, कनकासुन्दरीमा १८७ घरधुरी जोखिममा रहेका प्रहरीको तथ्याङ्क छ । 

त्यसैगरी पहिरोले नाग्म–गमगढी राजमार्ग पनि क्षतविक्षत बनाएको छ । नाग्म–गमगढी सडकका १५० स्थानमा पहिरो जाँदा १५ दिन पछि पञ्छाएर सडक डिभिजन जुम्लाले राजमार्ग खुलाएको छ । धेरै ठाउँमा बाटो जोखिम अवस्थामा र पहिरोको डर उत्तिकै छ । सो क्षेत्रमा करिब एक सय जति काठेपुल पनि बगाएको छ । 

बाढीपहिरो र पानीले सिन्जासहित जुम्लामा मार्सीधानका फाँटसमेत बगेका छन् । मानवीय क्षति, मूल सड्कदेखि घर तथा बस्ती जोखिम भएकाले बालीको क्षति यकिन आएको छैन तर पाक्नै लागेका धानका फाँट बगेपछि किसानलाई ठूलो समस्या भएको छ । यस पटक भोकमरी हुने डर भएको हिमा गाउँपालिका–१, बड्की निवासी लालबहादुर शाहीले बताउनुभयो । सिन्जा क्षेत्रमा धानबालीसहित सिमी, मकै, कोदो र बर्खे बालीमा यस पटकको भीषण वर्षाले ठूलो क्षति पु¥याएको छ । 

कनकासुन्दरीमा कुउलापाटा, लासी खेती, तल्लो दियार ज्यूलो, बाधंगागा ज्यूलो, धिमीचौर ज्यूलोमा धानसहित खेतमा समेत क्षति पुगेको छ भने सिन्जा गाउँपालिकामा थार्पी ज्यूलो, धापा, घोडेगा, चाँगा ज्यूलो, विष्ट ज्यूलो, रनुखाना ज्यूलो, नराकोट, धिताललिही र आचार्यलही, देवारगाउँ, कुच्चीकुना, पागरपाली, बड्की ज्यूलोसहित दर्जनौँ फाँटमा लगाइएका धान क्षति हुनुका साथै धेरै जमिन बगाएपछि किसानले ठूलो क्षति बेहोरेका छन् ।