• ८ वैशाख २०८१, शनिबार

डेढ लाखलाई सहुलियतपूर्ण कर्जा

blog

काठमाडौँ, कात्तिक १३ गते । आव २०७९/८० को भदौ मसान्तसम्ममा एक लाख ४७ हजार ९२६ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ। नेपाल राष्ट्र बैङ्कका अनुसार भदौ मसान्तसम्ममा ती ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई दुई खर्ब १३ अर्ब २३ करोड रुपियाँ कर्जा बक्यौता रहेको छ। यसमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जा ६० हजार ३०२ ऋणीलाई प्रवाह भएको एक खर्ब ३९ अर्ब ६७ करोड रुपियाँ कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ८४ हजार ७९० महिला उद्यमीलाई प्रवाह भएको ७० अर्ब १० करोड रुपियाँ कर्जा बक्यौता रहेको छ।

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुई हजार ८३४ ऋणीको तीन अर्ब ४६ करोड रुपियाँ कर्जा बक्यौता रहेको राष्ट्र बैङ्कले जनाएको छ। ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा २०७९ भदौ मसान्तमा ८९ करोड ७३ लाख रुपियाँ बक्यौता रहेको थियो।

एक खर्ब पुनर्कर्जा

नेपाल राष्ट्र बैङ्कले प्रदान गर्दै आएको तोकिएका क्षेत्रमा सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा २०७९ भदौ मसान्तमा एक खर्ब आठ अर्ब ४९ करोड रुपियाँ लगानीमा रहेको छ। ग्राहक ऋणीअनुसार स्वीकृत गरिएका पुनर्कर्जाको क्षेत्रगत विवरणअनुसार पर्यटन क्षेत्र सर्वाधिक ५२.२४ प्रतिशत रहेको छ भने जलविद्युत् १७.८३ प्रतिशत, उत्पादनमूलक १४.८३ प्रतिशत, शिक्षा ८.१० प्रतिशत, अस्पताल ३.७८ प्रतिशत, निर्माण व्यवसाय १.८६ प्रतिशत, यातायात ०.८४ प्रतिशत र व्यापार ०.५१ प्रतिशत रहेको छ।