• ८ वैशाख २०८१, शनिबार

निर्वाचनको तापमान

blog

यस वर्षको दशैँ, तिहार, नेपाल संवत्जस्ता चाडपर्व हाम्रा घरआँगनबाट बिदा भइसकेका छन् र छठ पर्व हाम्रो सामुन्ने छ। यी पर्व मनाउने क्रममा कुनै किसिमका बाधा–व्यवधान सिर्जना नभएकै कारण समग्रमा नेपालीले हर्ष, उमङ्ग तथा उल्लासका साथ मनाए। यी ठूला पर्व बिदा भएसँगै पूर्ववत् रूपमा जिम्मेवारी तथा दायित्व निर्वाहमा सबै आआफ्ना कार्यक्षेत्रमा फर्किने क्रम पनि सुरु भइसकेको छ। नेपालीका ठूला चाडपर्वको समाप्तिसँगै आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने दायित्व आमनेपालीमा छ। आसन्न आमनिर्वाचनको महायज्ञ सम्पन्न गर्न हरेक नेपाली आआफ्नो क्षेत्रबाट जुट्नु आवश्यक छ। मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मतदान गर्न अब तीन साता मात्र बाँकी छ। यो तीन साता नेपाली नागरिकका निम्ति अनेक दृष्टिले महत्वपूर्ण छ। राजनीतिक दल र उम्मेदवारले आफूलाई मतदाताको विश्वास जित्ने समयसमेत यही बेला हो।

आमनिर्वाचनजस्तो देशव्यापी रूपमा हुने बृहत्तर कार्य गर्न कुनै एक निकाय, संस्था वा व्यक्तिको भूमिका मात्र पर्याप्त हुँदैन। यस सन्दर्भमा राष्ट्रसेवक कर्मचारीदेखि आममतदाता, राजनीतिक दललगायतले आफ्ना जिम्मेवारी तथा दायित्व इमानदारीपूर्ण तरिकाले निर्वाह गर्नु आजको आवश्यकता हो। यसैमा हाम्रो लोकतन्त्रको भविष्य पनि निर्भर छ। निर्वाचनलाई सकेसम्म कम खर्चमा सम्पादन गर्नु सबैको दायित्व हो। खर्चालु निर्वाचनले नेपालजस्तो कम विकसित मुलुकमा लोकतन्त्रको संस्थागत विकास गर्न कठिन पर्नेछ।

मुलुकका सात प्रदेश र ७७ जिल्लामा एकै पटक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदै छ। विगतमा चरण–चरणमा भएको थियो। सरकारले एकै पटक निर्वाचन सम्पन्न गर्ने तय गरेर समय र साधनको सदुपयोग गर्ने पूरै यत्न गरेको छ। निर्वाचनका लागि शान्तिपूर्ण, निष्पक्ष, धाँधलीरहित तरिकाले मतदान आवश्यक हुन्छ। यसमा सबैको सहयोग आवश्यक छ। एकै चरणमा निर्वाचन गरी मतगणना तथा परिणाम घोषणाको कार्य पक्कै पनि सहज होइन। यसका निम्ति निर्वाचनका लागि आवश्यक सबै किसिमका भौतिक पूर्वाधारका साथै शान्तिसुरक्षाको व्यवस्थापन अति महत्वपूर्ण पक्ष हुन्। निर्वाचन आयोग निर्वाचननिम्ति आवश्यक सरसामग्री, मतपत्रको छपाइ र मतपेटिकाको व्यवस्थामा जुटिरहेको छ। यस्तै देशभरिका सबै मतदानस्थलमा यी सामग्रीको ढुवानीकार्य अबको केही समयमा पूर्ण रूपमा सम्पन्न हुँदै छ। यी सबै कार्यले आमनिर्वाचनको सुनिश्चितता गर्नेछ। 

आमनिर्वाचनका भौतिक पक्षका अतिरिक्त मतदान कार्य शान्तिपूर्ण, धाँधलीरहित तथा निष्पक्ष रूपमा सम्पन्न गर्न सुरक्षा निकायको महत्वपूर्ण भूमिका रहनेमा कुनै शङ्का छैन। यसका लागि अस्थायी (म्यादी) प्रहरीको भर्नालगायत उनीहरूको तालिम सम्पन्न हुने क्रममा छ भने सुरक्षा निकायद्वारा निर्वाचनका निम्ति सुरक्षा व्यवस्थाको व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगिसकेको अपेक्षा गर्न सकिन्छ। यसैगरी निर्वाचनमा खटिने राष्ट्रसेवक निजामती कर्मचारीलाई निर्वाचन उद्देश्यका लागि आवश्यक प्रशिक्षणको व्यवस्थापन पनि हुँदै छ। आमनिर्वाचनका लागि यी तयारीको व्यवस्थापनले आसन्न निर्वाचन शान्तिपूर्ण, धाँधलीरहित तथा निष्पक्ष तवरले सम्पन्न गर्न सहयोग पुग्नेछ।

निर्वाचनलाई धाँधलीरहित तथा निष्पक्ष तवरले सम्पन्न गर्न निर्वाचन आचारसंहिता पालनको पनि महत्वपूर्ण भूमिका रहने निर्विकल्प तथ्य हो। यस अवस्थामा निर्वाचन आयोगको निर्वाचन आचारसंहितालाई सरकार, राजनीतिक दल, उम्मेदवारका साथै सम्बद्ध सबैबाट पालना गरिनु पनि अति महत्वपूर्ण विषय हो। आचारसंहिता पूर्ण रूपमा पालना नहुँदा निर्वाचनको निष्पक्षता तथा स्वच्छतामा प्रश्न उठ्न सक्ने अवस्थालाई निर्वाचन सम्बद्ध सबै पक्षले हेक्कामा लिनु आवश्यक छ। समष्टिगत रूपमा आसन्न आमनिर्वाचन सम्पन्न गर्न सबै पक्षको इमानदार तयारी अति जरुरी छ। हालसम्मको तयारीको विश्लेषण गरिँदा सन्तोषजनक छ। सानातिना कमजोरी भए गए पनि तिनको सुधार गर्दै लैजानुपर्छ। अबको तीन साताको अवधिमा बाँकी तयारीलाई सम्बद्ध पक्षले उपयुक्त तवरले गर्ने अपेक्षा गर्न सकिन्छ। मूल रूपमा राजनीतिक दल र उम्मेदवार अब मतदातासमक्ष पुग्न सहज भएको छ। चाडपर्वको समय सकिएकाले पनि अब मतदातासमक्ष पुग्न सजिलो हुँदै गएको हो। राजनीतिक दलहरूले घोषणापत्र ल्याउने क्रमसमेत सुरु भएको छ। मौसम चिसो हुँदै गए पनि निर्वाचनको तापमान भने अब निश्चय नै बढ्दै जानेछ।