• ७ वैशाख २०८१, शुक्रबार

छठ पर्वको सामाजिक सद्भाव

blog

आज छठ पर्व । सूर्य देवताको आराधना गरेर मनाइने यो पर्व समतल फाँटदेखि हिमालको फेदसम्म पुगिसकेको छ । पञ्च तत्वमध्ये सूर्य र जल अपरिहार्य हुन्। यी दुई तत्वप्रति श्रद्धा भाव व्यक्त गर्दै यो पर्व मनाइँदै आइएको छ। जीवन, जगत्, प्रकृति, वनस्पति, ग्रह, नक्षत्र, संवत्सर, समय, काल सबैको कारक रहेका सूर्यको आराधना गर्ने छठ पर्वमा आपसी सद्भाव, एकता र सहिष्णुताको सन्देश पनि सन्निहित छ।

सामाजिक संस्कृतिको अभिन्न अङ्ग मानिएको छठको सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने विशेषता छ। सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही नै यस्तो पर्व हो; जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ। वैदिक साहित्यको मुख्य सार सूर्य उपासना नै हो। वेदमा सूर्यलाई ऐश्वर्यका रूपमा र ऋग्वेदमा सूर्यलाई नै सबै देवताको स्रोत मानिएको छ। सृष्टिका सबै जीव र वनस्पति सूर्यको तापबाट नै बाँचेका छन्। ऋग्वेदमा भनिएको छ, ‘सूर्य आत्मा जगतस्य स्थुपश्च।’ अथर्ववेदमा त सूर्यलाई ब्रह्मको साकार रूप नै मानिएको छ । महाभारतमा पनि सूर्यलाई सम्पूर्ण जगत्का प्राणीसित सम्बद्ध भएको उल्लेख गरिएको छ।

संसारमा सूर्य पूजाको परम्परा सबै सभ्यता, धर्म, समुदाय र युगमा पाइन्छ। बेबीलोन निवासीले सूर्यलाई अपोलोका रूपमा पूजा गर्थे भने जापानी इजानागी र इजानागीलाई आदि पुरुष र आदि नारी मान्ने गर्छन् र यी आदि पुरुष, आदि नारीबाट नै सूर्यको जन्म भएको विश्वास राख्छन्। मिश्र सभ्यतामा एटम अथवा रे भनी सूर्यको पूजा गर्ने गरिन्छ।

सूर्यलाई आदि देउता पनि भनिन्छ। मानव मात्रको अस्तित्वपछि मानवलाई सर्वप्रथम उज्यालो दिने, जिउमा गर्मी उत्पन्न गर्ने, रोगव्याधिबाट जोगाउने सूर्य नै थिए। स्वभावतः मानव सूर्यप्रति आकर्षित भए र सूर्य आराधनाको क्रम सुरु भयो। यो पर्वको सम्पादन षष्ठी तिथिमा हुने भएकाले यसको तद्भव रूप छठले परमेश्वरीका रूपमा लोकमानसमा आस्थाको महापर्वको स्थान ग्रहण गरेको देखिन्छ। सूर्यको महिमा सबै सम्प्रदाय र ग्रन्थमा रहेको छ।

ऋग्वेदमा भनिएको छ, “हे आकाशकी छोरी उषा मलाई अन्न, धन, छोराछोरी देऊ, वरदान देऊ कि म सधैँ बिहान ओछ्यानबाट उठेर बलिष्ठ छोराहरूको मुख देख्न सकौँ।” सूर्योपनिषद्मा सूर्यलाई नै ब्रह्माको साकार रूप बताइएको छ। यति मात्र होइन, यस ग्रन्थमा सूर्यलाई जगत्को पति भनी सम्बोधन पनि गरिएको छ। छठ पर्वले एक ठाउँमा भेला गराएर साँचो अर्थमा समान व्यक्तित्वको आदर्शसमेत स्थपित गर्छ। यही आस्था र विश्वासले जलाशय सफाइ गरी बेहुलीझैँ सिँगारेर परम्परालाई जीवन्त तुल्याउने प्रयास जारी छ। छठ शब्द षष्ठी शब्दको तद्भव रूप हो। षष्ठीका दिन षष्ठीका देवीसमेतको पूजा हुने भएकाले यस पर्वको नाम षष्ठी, छठी हुन गएको हो तर अपभ्रंशमा षष्ठी, छठीबाट छठ हुन गएको बुझिन्छ। धर्मग्रन्थमा छठ पर्वको नाम षष्ठी व्रत, सूर्य षष्ठी पर्व, रवि षष्ठी व्रत र छठी पर्व उल्लेख छ।

सूर्य पुराणमा वर्णित कथाअनुसार कार्तिक शुक्ल षष्ठीका दिन हुने छठ पर्व सर्वप्रथम अत्रि मुनिकी पत्नी सती अनुसूयाले सुख, समृद्धि र आफ्नो दाम्पत्य प्रेमको निष्ठाका लागि गरेकी थिइन्। सोही समयदेखि यस पर्वको थालनी भएको मानिन्छ। त्यस्तै द्वापर युगको महाभारतकालमा पाण्डवहरू अज्ञात वासमा हुँदा द्रौपदीले आफूहरूको अज्ञात वास सफल होस् भनी कामनाका साथ सूर्यदेवलाई आराधना गरेको महाभारतमा उल्लेख छ।

यस पर्वको विधि चतुर्थीदेखि नै सुरु हुन्छ। चतुर्थीका दिन व्रतालुले शुद्ध शाकाहारी भोजन गर्ने गर्छन्, जसलाई अरबा अरबाइन र नहाय–खाय अर्थात् नुहाएर खानु भनिन्छ। पञ्चमीका दिन गोबरले घर–आँगन लिपपोत गरी पवित्र भई दिनभरि उपवास बसेर साँझपख शुद्ध दूधमा खीर पकाई, केरा, मिष्ठान्न, फलफूल इत्यादि प्रसाद चन्द्रमालाई अर्पण गरी व्रतालुले आफू पनि ग्रहण गर्ने गर्छन्, यसलाई खरना भनिन्छ। षष्ठीका दिन गहुँको पिठो र चामलको पिठोबाट क्रमशः ठकुवा र भुसवा पकाइन्छ र बेलुकी सूर्यास्त हुनुभन्दा अगावै पवित्र जलाशय भएको स्थानमा गई पूजा गरिन्छ। प्रसादका रूपमा ठकुवा, कसार, केरा, उखु मूल परिकार हुन्छ भने अन्य सामग्रीमा विभिन्न फलफूल, मेवा मिष्ठान्न, गेडागुडी, कन्दमूल, नरिवल, सुन्तला, किसमिस लगायतका विभिन्न वनस्पति पनि राखिन्छ।

सबै सामग्री तयार भएपछि बाँसबाट बनेको कोनिया, कनसुपती, नाङ्लो, माटोको कुरबार सजाएर ठूलो ढकीमा राखेर नदी, पोखरी वा खोलाको किनारमा गई सबैथोक सजाएर राखिन्छ। व्रत बस्नेहरू कम्मरसम्मको पानीमा बसेर अस्ताउन थालेको सूर्यलाई अर्घ दिन्छन् । सप्तमीका दिन बिहान उषाकालमा व्रतालुले पुनः अघिल्लो दिनको क्रम दोहो-याउँछन्। सूर्यलाई अर्घ दिँदा परिवारका सदस्यले गाईको दूध चढाउँछन्। ‘ॐ सूर्यायै नमः, ॐ भास्करायै नमः’को मन्त्रोच्चारण गरी व्रतालुले सूर्यदेवको आराधना गर्ने गरेको पाइन्छ। मानव जीवन र प्रकृतिबीचको सम्बन्धलाई प्रस्ट पार्ने यो पर्वले संस्कृतिको संरक्षण पनि गरिरहेको छ। अस्तित्वले निःशुल्क प्रदान गरेका अमूल्य उपहार पहिचान गर्नु, प्रकृतिप्रति आभार र प्रेम प्रवाह गर्नुका साथै स्वयंभित्र रहेको चैतन्यरूपी आत्माको पहिचानको सन्देश बोकेको छठ पर्वले जनव्रतको रूप लिइसकेको छ। जुनसुकै जाति र धर्मका आस्थावान्ले छठ पर्व मनाउन सकिने भएकाले आर्थिक अभाव रहेकाहरूले भिक्षा मागेर पनि छठ पर्व मनाउने गरेको पाइन्छ। 

छठ पर्वको मूल सन्देश समन्वय, समावेशी र सादगीपन हो। यसमा महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गर्नु महत्वपूर्ण पक्ष हो। यसका साथै अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समान रूपमा र जीवनकै पाटोका रूपमा लिइनु हो। कुनै पनि व्यक्तिको कुण्डलीमा अवस्थित सूर्य ग्रहलाई ग्रहको पिता मानिन्छ। त्यसैले सूर्यलाई जल चढाउँदा शान्ति प्राप्त हुने विश्वास विद्यमान रहेको छ। सूर्यको किरणको शक्तिले शरीरका प्रत्येक अङ्गलाई सक्रिय बनाउने र भिटामिन ‘डी’ प्राप्त हुने वैज्ञानिक मान्यता पनि पाइन्छ। धनी, गरिब, कथित तल्ला र माथिल्ला जाति एकै ठाउँमा यस पर्वमा उपस्थित भई पूजा गर्नु ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुन्। सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएकाले उनीप्रति कृतज्ञताको अभिवृद्धि पनि यस पर्वले दिन्छ। आफ्नै गाउँघरका खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु छठको थप मौलिकता हो, जो श्रमको सम्मानको परिचायक रहेको छ। यसमा श्रमको वैज्ञानिक रूप देखिन्छ। श्रमशक्तिले काम गर्न पाऊन् भन्ने कुरालाई समेत सूक्ष्म दृष्टिले विचार गरिएको पाइन्छ।

छठमा बाँसको काम गर्ने, माटोको काम गर्ने र कृषि उत्पादन गर्नेजस्ता श्रमलाई उपयोग गरिएको पाइन्छ। यो पर्व पारिवारिक जमघटको अवसर पनि हो। परिवारबाट टाढाटाढा बसेका व्यक्ति पनि छठ मनाउन आफ्नो घर फर्कने गर्छन्। जसले पारिवारिक मेल र आत्मीयता अभिवृद्धिको अवसरसमेत प्रदान गर्छ। यस पर्वमा धनी, गरिब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ।

यस पर्वको अवसरमा चमार जातिले ढोल बजाउने, मालीले फूल, बरईले पानको पात, कुम्हारले माटोको भाँडा, डोमले बाँसका सामग्री पु-याउने गरेका कारण पनि यो पर्वमा श्रम विभाजनको वैज्ञानिक रूप दृष्टिगोचर हुन्छ। यस पर्वमा बाँसको सामग्रीमा अर्घ दिएपछि वंशवृद्धि, केरामा भगवान् विष्णुको वास, ठकुवामा समृद्धि र मौसमी फल प्रकृतिप्रति कृतज्ञताको द्योतक भएको मान्यता पनि पाइन्छ। विभाजन, द्वेष, एकले अर्काको अस्तित्वलाई अस्वीकार गर्ने वर्तमान अवस्थामा छठ पर्वले सबैलाई एउटै स्थलमा उभ्याउने र मानवलाई मानव भएर जिउनमा सहयोगीसमेत सिद्ध भएको छ। यही कारण छठलाई भेदभावविरुद्ध र साम्प्रदायिक सद्भावको दृष्टिले लोकतान्त्रिक पर्वको सङ्ज्ञा दिन थालिएको छ।