• १३ वैशाख २०८१, बिहिबार

काठमाडौँ ६ मा रोचक प्रतिस्पर्धा

blog

काठमाडौँ, कात्तिक १३ गते । आगामी प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ६ मा प्राध्यापक र पूर्वप्रहरी प्रमुखबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

सत्तारूढ गठबन्धनको साझा उम्मेदवारका तर्फबाट नेपाली कांग्रेसका नेता तथा पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान र नेकपा एमालेबाट पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल चुनावी मैदानमा हुनुहुन्छ। सोही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विष्णुप्रसाद आचार्यसमेत चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ।  

२०७० सालको दोस्रो संविधान सभा र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा प्रधानले एमाले र माओवादीलगायत वाम गठबन्धनलाई पराजित गर्नुभएको थियो। उपत्यका तथा आफ्नो निर्वाचन क्षेत्रलाई हरियाली तथा सांस्कृतिक सहरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएका उम्मेदवार प्रधानले स्वास्थ्य क्षेत्रको सुधारलाई चुनावी घोषणापत्रमार्फत प्राथमिकता दिनुभएको छ। 

नेपालबाट बढ्दो बौद्धिक पलायन नरोकिए ज्येष्ठ नागरिक मात्र रहने अवस्था आउने भन्दै उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार नै आफ्नो प्राथकितामा रहेको बताउनुभयो। ज्येष्ठ नागरिक स्याहार केन्द्र तथा ज्येष्ठ नागरिक विद्यालय स्थापनालाई प्रधानले जोड दिनुभएको छ।

तत्कालीन नेकपा नेतृत्वमा झन्डै दुई तिहाइ जनमत प्राप्त भए पनि अध्यक्ष केपी ओलीले सरकार र पार्टीसमेत सञ्चालन गर्न नसकेकाले मतदाताले त्यसको विकल्प खोजेको प्रधानले बताउनुभयो। तनहुँमा जन्मिनुभएका सर्वेन्द्र खनाल काठमाडौँको बसुन्धराका स्थायी बासिन्दा हुनुहुन्छ।    

उम्मेदवार खनालले आफू देशका लागि केही गरौँ भन्ने तीव्र आकाङ्क्षासहित राजनीतिमा आएको र समग्र क्षेत्र नं. ६ को विकासमा ध्यान दिने बताउनुभयो। सिंहदरबारदेखि झोरसम्म फैलिएको उक्त क्षेत्र कृषि तथा पर्यटनको समेत प्रशस्त सम्भावना भएको क्षेत्र रहेकाले सोहीअनुसार विकास गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ। 

आफ्ना प्रतिस्पर्धी पूर्वमन्त्री भीमसेनदास प्रधानले सो क्षेत्रमा चुवाव जित्दै आउनु भए पनि जनताले अपेक्षा गरेअनुसारको काम गर्न नसकेको आरोप लगाउँदै खनालले आफूले जनअपेक्षाअनुसारको काम गर्ने दाबी गर्नुभयो। 

सोही निर्वाचन क्षेत्रमा प्रदेश सभा (क) सदस्यतर्फ संयुक्त गठबन्धनले नेपाली कांग्रेसकी नेत्री तथा काठमाडौँ महानगरपालिकाका निवर्तमान उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ तथा एमालेका तर्फबाट निरेशलाल सिंहले प्रतिस्पर्धा गर्नुभएको छ। प्रदेश सभातर्फको सोही क्षेत्रमा जगतसागर महर्जन, देवी महर्जन, कल्पना ओझा, बुद्धिकाजी महर्जन तथा योगेन्द्र शाक्यलगायतले उम्मेदवारी दिनुभएको छ।

प्रदेश सभा (ख)मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसबाट विष्णुभक्त तिमल्सिना तथा एमालेबाट अमन मास्केबीच प्रतिस्पर्धा हुँदै छ। साथै सोही क्षेत्रबाट बबिन्द्र कार्की तथा सपना कार्कीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ।