• ८ वैशाख २०८१, शनिबार

उम्मेदवारलाई मतदाताको प्रश्न

काम नगर्नेलाई किन भोट दिने ?

blog

कैलाली, कात्तिक १३ गते । अछामको रामारोशन गाउँपालिका–१ का प्रेमबहादुर विकको सात रोपनी खेत २०७७ भदौ २ गते आएको कैलाश खोलाको बाढीले बगायो। खेतसँगै वर्षभरि खान पुग्ने पाक्ने तयारीमा रहेको धान पनि बग्यो। 

बाढीले खेत र धान बगाएपछि निराश बनेका विकलाई अनुगमनमा पुगेका सांसद तथा मन्त्रीहरूले राहत उपलब्ध गराउने आश्वासन दिए। सांसद तथा मन्त्रीहरूबाट आश्वासन पाएपछि विकले राहतको सास फेर्नुभयो तर विकले हालसम्म पनि राहत पाउनुभएको छैन। बाढीले बगाएको विकको खेत अहिले बगरमा परिणत भएको छ।

त्यो बेला नयन विकको पनि चार रोपनी खेत बगाएको थियो। प्रेमबहादुर र नयन तत्कालीन समयमा पाएको आश्वासन पूरा नहुँदा राजनीतिक दलका नेताहरूप्रति असन्तुष्ट बन्नुभएको छ। उहाँहरू आसन्न निर्वाचनमा गाउँमा पुग्ने नेतालाई यही प्रश्न सोध्ने तयारीमा हुनुहुन्छ। “विपत्को समयमा कसैले केही नगर्ने र निर्वाचनमा आफ्नो हुँ भन्दै आउने नेतालाई भोट किन दिने भन्दै प्रश्न सोध्नेछु,” नयन विकले भन्नुभयो। 

हामीलाई राहत चाहिएको बेला नदिनेलाई अहिले कसरी भोट दिने ? भन्दै नयन विकले प्रश्न गर्नुभयो। “हामी दुई वर्षदेखि खेतीपातीविहीन हुँदा पनि के खायौ भनेर कसैले सोधेन,” नयन विकले भन्नुभयो, “चुनाव आएपछि सबै समस्याको समाधान हामी गर्छौ भन्नेलाई कसरी विश्वास गर्नु ?”

प्रेमबहादुर र नयनको मात्रै होइन, त्यो बाढीले स्थानीय नामसरा खनालको खेत पनि बगाएको थियो। 

“५० क्विन्टलसम्म धान फल्ने खेत बाढीले एकै झड्कामा बगायो खनालले भन्नुभयो, “सन्तानको अध्ययन र घर खर्चको माध्यम नै यही खेत थियो तर यस्तो समस्यामा पनि पर्दा सोधपुछ गर्न कोही आएनन्।” 

कैलाश खोलाको त्रासमा आज पनि तटीय क्षेत्रका स्थानीयवासीमा बाँकी छ। बाढीले अस्तव्यस्त भएको रामारोशनका स्थानीयवासीको जीवन पुरानो लयमा फर्कन अझै सकेको छैन। सङ्घ र प्रदेश सरकारसँग पटकपटक दीर्घकालीन तटबन्धका लागि आग्रह गर्दासमेत कतैबाट सुनुवाइ नभएको स्थानीय अगुवा दाताराम खनालले बताउनुभयो। “पछिल्लो दुई वर्षमा व्यवस्थापनका लागि कैयौँ प्रयास भए तर काम हुन सकेन,” उहाँले भन्नुभयो।

उहाँले आसन्न निर्वाचनमा राजनीतिक पार्टी हेरेर भन्दा पनि उम्मेदवारको क्षमताका आधारमा मतदान गर्न आह्वान गरेको बताउनुभयो। “कैलाश खोला हाम्रा लागि लामो समयदेखि समस्या बनेको छ। निर्वाचनमा जसले खोला नियन्त्रणका लागि ठोस योजना ल्याउँछ, हामी उसैलाई भोट दिन्छौँ,” उहाँले भन्नुभयो। 

तत्कालीन बाढीले क्षति पु¥याएको जयगड, रामारोशन सडक हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन। हिउँदको समयमा अल्पकालीन खोला किनारबाट अस्थायी साधारण बाटो खोलेर सवारीसाधन सञ्चालनमा आउने गरे पनि सहज रूपमा सडक सञ्जाल विस्तार नसकेको हो।

सुदूरपश्चिम प्रदेश सरकारले जयगड–मुजाबगर सडक कालोपत्रेको काम सुरु गरेपछि खोलाको कटानको बहानामा निर्माण कम्पनीले काम नै बन्द गरेको छ। बाढीले कटान गरेका कैयौँ ठाउँमा नयाँ साधारण बाटो खोल्नुपर्ने भएका कारण पनि सडक निर्माणले गति लिन सकेको छैन। 

आसन्न निर्वाचनमा प्रतिनिधि सभाको निर्वाचनका लागि गठबन्धनका तर्फबाट शेरबहादुर कुँवर, नेकपा एमालेका तर्फबाट झपटबहादुर बोहराबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। साथै प्रदेश (क)बाट गठबन्धनतर्फबाट नेपाली कांग्रेसका मेघराज खड्का, एमालेबाट टेकबहादुर कुँवर र प्रदेश (ख)बाट गठबन्धनका नेकपा माओवादी केन्द्रका झपट साउद, एमालेका कृष्णप्रसाद जैसी प्रतिस्पर्धामा हुनुहुन्छ।