• १६ चैत २०८०, शुक्रबार

सिमकोट–हिल्सा सडकखण्ड सुचारु

blog

राजन रावत

हुम्ला, कात्तिक १२ गते । कर्णाली कोरिडोरको सिमकोट–हिल्सा सडकको सिमकोट यारी खण्डको यातायात सुचारु भएको छ । पहिरोले च्याछरा लगायतका क्षेत्रमा अवरुद्ध भएको सडक मर्मत गर्ने कार्य भएपछि यातायात सञ्चालनमा आएको हो । 

नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामाले सिमकोट हिल्सा सडकको सिमकोट–यारी खण्डमा सडक सुचारु भएको बताउनुभयो । क्षति पुगेको सडकको मर्मतका लागि उहाँ आफै स्थलगत रूपमा खटिनुभएको थियो । गत असोज १९ गतेदेखि २४ गतेसम्म परेको वर्षाले सो खण्डको सडकमा दश स्थानमा सडक पहिरोले क्षति गरेपछि यातायात बन्द रहेको थियो ।

विशेषगरी असजिलो च्याछरा क्षेत्रमा मर्मत गर्ने कार्य भएपछि सडक सुचारु भएको छ । गाउँपालिकाको लगानीमा क्षति पुगेको सडकको मर्मत गर्ने कार्य भएपछि २० दिनपछि यातायात सुचारु भएको उहाँले बताउनुभयो । सो सडक हिल्सा–सिमकोट सडक आयोजनाले निर्माण कार्य गरिरहेको भए पनि नाम्खा गाउँपालिकाले यस पटक वर्षाबाट सडकलाई पुगेको क्षतिको मर्मत कार्य गरेको हो । 

करिब ८० किलोमिटर सडकको ठाउँ ठाउँमा भएको क्षतिको मर्मत गर्ने कार्य गरेपछि हाल यारीसम्म यातायात सुचारु भएको छ । सडक सुचारु भएसँगै निर्वाचनमा होमिएका उम्मेदवार तथा राजनीति दललाई आउजाउमा सहज भएको छ । सडक मर्मत नभएको भए दलहरू चुनावी प्रचारका लागि पैदल जानु पर्ने अवस्था रहेको थियो । 

हाल गठबन्धन दल र नेकपा (एमाले) का उम्मेदवार माथिल्लो हुम्लामा चुनावी प्रचारका लागि लाग्नु भएको छ । सो खण्डको यारीदेखि हिल्लासम्म भने नारालेकमा बाक्लो हिउँ जमेको कारण सडक मर्मत गर्न सक्ने अवस्था नरहेको उहाँको भनाइ छ ।