• ६ वैशाख २०८१, बिहिबार

ओलीसँग सेल्फी लिनेको भीड

blog

विष्णुप्रसाद पोखरेल

दमक, कात्तिक १२ गते । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली झापा कार्यक्रममा आएका बेला बालबालिकाहरूको सेल्फी खिचाउने भिड लाग्नेगरेको छ । 

आफूसँग काम गर्ने जोस र जाँगर भएको उल्लेख गर्दै अध्यक्ष ओलीले सेल्फि कार्यक्रमपछि भन्नुभयो ‘कसै कसैले ‘केपी बा’ अब घरमै बसेर आराम गर्नुस् भन्दै भनेको र लेखेको देख्छु । यसले मलाई माया गरेकोजस्तो लाग्छ । ‘बा’ अहिले घर गएर बस्ने हैन, ‘बा’ फेरि संसदमा गएर सरकार बनाएर प्रधानमन्त्री भएर देशका भ्रष्टाचारीलाई तह लगाउनु छ ।’

शनिबार बिहान झापाको दमकस्थित कृष्ण मन्दिरमा भएको एक चुनावी कार्यक्रममा उहाँसँग फोटो खिच्नेको भिड लागेको थियो । कार्यक्रम सकेर स्टेजबाट करिब ५० मिटर गाडीमा आउन उहाँलाई झण्डै आधा घण्टा लाग्यो । सेल्फी खिच्नेको भीड लागेपछि उहाँलाई उम्किन गाह्रो भएको थियो । ओली झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहनु भएको छ र उहाँको गृह नगर दमक हो ।

एमालेका स्थायी कमिटी सदस्य एवं प्रतिनिधि सभा सदस्य क्षेत्र नं. ५ निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दहालका अनुसार पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीले आफूसँग फोटो खिचाउन चाहने र भेट्न चाहेका बालबालिकासँग सहज रूपमा समय दिने गर्नुभएको छ । बालबालिकासँग बोल्न र जानकारी लिन ओली स्वयं आफू पनि मरिहत्ते गर्नेगरेको बताइन्छ ।

अभिभावकले आफ्ना बालबालिका ल्याएर ओलीलाई भेटाउन लाइनमा बस्नेगरेको उहाँले जनाउनुभयो । उमेर समूहका नागरिक टिकटिक बनाउन, फोटो खिच्न भिड लाग्ने गर्दा निर्धारित कार्यक्रममा समयमा पुग्न र समय व्यवस्थापन गर्न चुनौती हुनेगरेको दहालले बताउनुभयो । 

ओलीको सचिवालयका दीपेन्द्र दहालका अनुसार अध्यक्ष ओलीसँग भेटेर फोटो खिच्नका लागि घण्टौँसम्म पनि लाइन लाग्ने र पर्खनेको सङ्ख्या धेरै हुनेगरेको छ । सार्वजनिक कार्यक्रममा कहिलेकाहीँ स्टेजमा र स्टेजबाहिर निस्कँदा भिड थेग्न नसक्ने अवस्था हुनेगरेको  छ, दहालले भन्नुभयो ।

जनताको अपेक्षा मसँग छ : ओली

ओलीले सार्वजनिक कार्यक्रममा नै आफू कमजोर नभएको र जनताको साथ आफूमा रहेको बताउँदै आउनुभएको छ । मसँग जनताको ‘हाई भोल्टेज’ सहितको साथ रहेको छ, ओलीले भन्नुभयो । मलाई कसैले कमजोर नठाने हुन्छ, मसँग जनताको हाई भोल्टेजको साथ छ, म विरुद्ध लाग्नेलाई यसले पोल्छ, ओलीको भनाई छ ।

ओलीले आफूसँग काम गर्ने जोस र जाँगर अहिले पनि कम नभएको बताउनुभयो । देशको कामले आफूसँग आराम गर्ने समय नरहेको उहाँले बताउनुभयो । अहिले पनि आफू दिनको २० घण्टासम्म निरन्तर खटन सक्ने बताउनुभयो ।